

तस्बिर स्रोत, Reuters
माइक पोम्पिओ डोनल्ड ट्रम्पको सरकारमा विदेशमन्त्री थिए
संयुक्त राज्य अमेरिकाका भूतपूर्व विदेशमन्त्री माइक पोम्पिओले सन् २०१९ मा भारत र पाकिस्तान ‘परमाणु युद्धको सँघारमा पुगेको’ दाबी गरेका छन्।
उनले आफ्नो नयाँ संस्मरणमा भारत-पाकिस्तान द्वन्द्वबारे चर्चा गरेका छन्।
त्यसबेला भारत-प्रशासित कश्मीरमा भारतीय सुरक्षाकर्मीहरूमाथि घातक आक्रमण भएपछि दिल्लीले पाकिस्तानी भूभागमा हवाई आक्रमण गरेको थियो।
त्यसपछि उत्पन्न तनावका बेला दुई देशले परमाणुअस्त्र प्रयोग गर्ने जोखिम बढेको थियो।
पाकिस्तानले त्यतिबेला भारतका दुईवटा लडाकु विमान खसालिएको र एक भारतीय विमानचालकलाई नियन्त्रणमा लिइएको बताएको थियो।
भारत र पाकिस्तान दुवैले पूरै कश्मीर आफ्नो स्वामित्वमा हुनुपर्ने दाबी गर्दै आएका छन्।
तस्बिर स्रोत, PAKISTAN ISPR
पाकिस्तानी सेनाले देखाएको भारतीय सैन्य विमानको भग्नावशेषको तस्बिर
कश्मीर उपत्यकामा सक्रिय पृथक्तावादी समूहहरूलाई पाकिस्तानले सहयोग उपलब्ध गराउने गरेको आरोप दिल्लीले लगाउने गरेको भए पनि इस्लामाबादले त्यसको खण्डन गर्ने गरेको छ।
दुवै देशसँग परमाणुअस्त्रहरू छन्। सन् १९४७ मा ब्रिटिश शासनबाट मुक्त भएर देश विभाजित भएपछि भारत र पाकिस्तानबीच तीनवटा युद्ध भइसकेका छन्।
तीमध्ये दुइटा कश्मीरको निहुँमा भएका थिए।
‘कहिल्यै नबिर्सिने त्यो रात’
पोम्पिओले आफ्नो पुस्तक ‘नेभर गिभ एन इन्चः फाइटिङ फर दि अमेरिका आई लभ’मा बाँकी विश्वलाई भारत र पाकिस्तानको प्रतिद्वन्द्विता सन् २०१९ को फेब्रुअरी महिनामा परमाणु युद्धको चरणमा कति नजिक पुग्न लागेको थियो भन्ने कुरा थाहा भए जस्तो आफूलाई नलागेको लेखेका छन्।
“सत्य के हो भने – कति नजिक भन्ने मलाई पनि ठ्याक्कै थाहा छैन। मलाई के थाहा छ भने त्यो निकै नजिक थियो।”
उनले हनोईमा एक शिखरवार्ताको समयमा उत्तर कोरियालीहरूसँग परमाणुअस्त्रबारे वार्ता भइरहेको रात भारत र पाकिस्तानले कश्मीरको विषयमा एकअर्कालाई चेतावनी दिन थालेको कुरा “कहिल्यै नबिर्सिने” जनाएका छन्।
त्यसबेला पृथक्तावादी लडाकुहरूले गरेको आक्रमणमा परेर ४० जनाभन्दा बढी भारतीय सैनिकको ज्यान गएको थियो।
त्यसलाई पोम्पिओले “सम्भवतः पाकिस्तानको प्रतिआतङ्कवादसम्बन्धी फितलो नीतिका कारण सम्भव भएको एउटा इस्लामिक आतङ्कवादी आक्रमण”को सङ्ज्ञा दिएका छन्।
त्यसको प्रत्युत्तरमा भारतले पाकिस्तानी भूमिमा आक्रमण गरेको थियो।
“पाकिस्तानीहरूले एउटा विमान खसाले र एक भारतीय विमानचालकलाई बन्दी बनाए।”
तस्बिर स्रोत, EPA
पाकिस्तानले भारतीय सेनाका विमानचालकलाई पनि छोडिदिएको थियो
भारतीय समकक्षी र पाकिस्तानी सेनाप्रमुखसँग कुरा
पोम्पिओले आफू हनोईमा सुतिरहेको बेला एक भारतीय “समकक्षी”सँग कुरा गर्नका लागि भनेर बिउँझाइएको जनाएका छन्। तर ती भारतीय अधिकारीको नाम उल्लेख गरिएको छैन।
“उनलाई पाकिस्तानीहरूले प्रहार गर्नका लागि आफ्ना परमाणुअस्त्रहरू तयार पारिरहेका छन् भन्ने लागेको थियो। भारतले पनि त्यसबारे विचार गरिरहेको जानकारी मलाई दिए,” पोम्पिओले लेखेका छन्।
“मैले उनलाई केही नगर्न र कुरा मिलाउन केही समय दिन आग्रह गरेँ।”
पोम्पिओले आफूसँगै भएका तात्कालिक अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनसँग छलफल गरेको उल्लेख गरेका छन्।
त्यसपछि आफूले पाकिस्तानी सेनाप्रमुख जेनरल कमर जावेद बाज्वालाई सम्पर्क गरेर आफूलाई भारतीय पक्षले सुनाएको कुरा बताएको प्रसङ्ग पनि लेखेका छन्।
“उनले त्यो सत्य नभएको बताए। र अनुमान गर्न सकिने गरी नै उनले पनि भारतीयहरूले आफ्ना परमाणुअस्त्र परिचालन गर्ने तयारी गरिरहेको आफूलाई लागेको बताए।”
“हामीलाई केही घण्टा लाग्यो अनि दिल्ली र इस्लामाबादस्थित हाम्रा टोलीले राम्रो काम गरेकाले दुवै पक्षलाई अर्को पक्षले परमाणु युद्धको तयारी नगरेको कुरामा विश्वस्त पार्न सकियो।”
“भयानक परिणाम आउन नदिन हामीले त्यो रात जे गर्यौँ त्यो अरू कुनै राष्ट्रले गर्ने थिएन,” पोम्पिओ लेख्छन्।
भारत र पाकिस्तान कसैले पनि पोम्पिओको दाबीबारे प्रतिक्रिया दिइसकेका छैनन्।
सन् २०१९ मा भएको आक्रमणको जिम्मा जैश-ए-मोहम्मद नामक लडाकु समूहले लिएको थियो। उक्त समूह पाकिस्तानमा आधारित थियो। त्यतिबेला भारतले प्रत्याक्रमण गर्ने घोषणा गरेको थियो।
भारतले लाइन अफ कन्ट्रोल अर्थात् भारत र पाकिस्तानबीच मानिएको नियन्त्रणरेखा नाघेर सन् १९७१ पछि पहिलो पटक हवाई आक्रमणहरू गर्यो।
भारतले आफ्नो कारबाहीमा ठूलो सङ्ख्यामा लडाकुहरू मारिएको दाबी गरेको थियो। तर पाकिस्तानले उक्त दाबीलाई “गैरजिम्मेवार” को सङ्ज्ञा दिएको थियो।