कोभिड चीनः ग्रामीण भेगमा शवपेटिका पाउनै गाह्रो, ठाउँठाउँमा देखिन्छ नयाँ चिहान

शवपेटिका निर्माता
तस्बिरको क्याप्शन,

केही ग्रामीण क्षेत्रमा मृतकलाई समाधिस्थ गर्न प्रयोग हुने बाकसको ठूलो माग छ

उत्तरी चीनको शाङ्शी प्रान्तमा अहिले शवपेटिका बनाउने मानिसहरू निकै व्यस्त छन्। भर्खरै काटिएको काठबाट शवपेटिका बनाउन त्यहाँका कालीगडहरूलाई भ्याइनभ्याइ भएको हामीले देख्यौँ। उनीहरू केही महिनयता आफूले आराम गर्न पनि नपाएको बताउँछन्।

गाउँका एक ग्राहकले हामीलाई बताएअनुसार सबै बाकस बिक्री भएका छन्। उक्त क्षेत्रमा देखिने निराशा मिसिएको व्यङ्ग्यात्मक भावमा हाँस्दै उनले अन्तिम संस्कारसँग सम्बन्धित काम गर्ने व्यवसायमा भएका मानिसले “राम्रो कमाइ” गरिरहेको बताए।  

चीनका प्रमुख सहरहरूमा कोभिड फैलिएसँगै चीनमा कोरोनाभाइरसका कारण ज्यान गुमाउने मानिसको वास्तविक सङ्ख्याबारे बहस भइरहेको छ।

अग्रणी सङ्क्रामक रोग विशेषज्ञ वु जुन्युऊले बताएअनुसार गएको डिसेम्बर महिनामा कोभिडसम्बन्धी प्रतिबन्धहरू हटाइएयता चीनमा जनसङ्ख्याको झन्डै ८० प्रतिशत अर्थात् एक अर्बभन्दा बढी मानिसहरू सङ्क्रमित भएका छन्।