
- मेरिल सेबास्टियन
- बीबीसी न्यूज, कोची

तस्बिर स्रोत, Gopal Shoonya/BBC
स्टिभ बेनर्जिीको स्केच
चुरोटको धुवाँले भरिएको क्लब कोठामा ‘बो टाइ र जी स्ट्रिङ’ मात्र पहिरिएका बलिष्ठ पुरुषहरूले महिलाहरूलाई मनोरञ्जन प्रदान गर्ने विषय आम रूपमा भारतीय आप्रवासी अमेरिकीसँग जोडिँदैन।
तर मुम्बईमा जन्मिएका स्टिभ बेनर्जीले दक्षिण एशियालीले मनमा राख्ने परम्परागत ‘अमेरिकी सपना’को छविभन्दा नितान्त भिन्न सन् १९७९ मा लस एन्जलिस सहरमा कामुक भावगङ्गी गर्दै जीउमा लगाएको लुका फुकालेर क्रमशः निर्वस्त्र भै ग्राहकलाई मनोरञ्जन प्रदान गर्ने एक स्थल, पुरुष ‘स्ट्रिप क्लब’ – चिपेन्डेल्सको स्थापना गरेका थिए।
त्यसपछिका कुरा इतिहास बनिसकेका छन्।
बेनर्जीको व्यवसाय एकदमै सफल भयो र त्यसबाट उनले धेरै नाफा कमाए।
यौन, लागुऔषध र हत्यालाई उनको कथासँग जोडेर हेर्ने हो भने अर्को किंवदन्ती बन्न जान्छ।
भारतमा बेनर्जी र उनको कामबारे कमैलाई थाहा छ।
अमेरिकामा चिपेन्डेल्सको ब्रान्डले उसका विवादास्पद संस्थापकको व्यक्तित्वलाई नै छायामा पारिदिएको छ।
तर त्यो अहिले परिवर्तन भइरहेको छ।
उनको मृत्युको झन्डै ३ दशकपछि एउटा पोडकास्ट र कुमैल नजिआनिको प्रमुख भूमिका रहेको,अनलाइन स्ट्रिमिङ सेवा, हुलुको नयाँ श्रृङ्खला ‘वेल्कम टु चिपेन्डेल्स’ ले बेनर्जीको कथालाई चर्चामा ल्याइदिएको छ।
“अधिकांश व्यक्तिहरूले चिपेन्डेल्सका संस्थापक अरू मानिससँग सहजै घुलमिल हुन सक्ने स्वभावका , पार्टीहरू रुचाउने, महिलाको पछाडि लाग्ने, लागु पदार्थ लिने र भयङ्कर मदिरा पिउने व्यक्ति थिए भनेर सोच्छन्,” सन् २०१४ मा प्रकाशित पुस्तक डेड्ली डान्स: द चिपेन्डेल्स मर्डर्सका लेखक स्कट म्याकडोनल्ड भन्छन्।
उनले थपे, “स्टिभ अरूसँग नखुल्ने र नियन्त्रित व्यक्ति थिए र प्रतिस्पर्धी डिज्नी, प्लेबोइ वा पोलोलाई चुनौती दिनसक्ने विश्वव्यापी ब्रान्ड स्थापना गर्ने उद्देश्यमा प्रस्ट थिए।”
तस्बिर स्रोत, Hulu
नयाँ श्रृङ्खला वेल्कम टु चिपेन्डेल्स जसमा कुमैल नजिआनिको प्रमुख अभिनय छ
ठूलो महत्त्वाकाङ्क्षा
इतिहासकार नटालिया मेल्मेन पार्टिर्जेलाको पोडकास्ट ‘वेलकम टु योर फेन्टेसी’ले चिपेन्डेल्सको विरासतबारे पुन: चासोहरू बढाइदिएको थियो।
उनी स्टिभ कथाका विशिष्ट पात्र भएको बताउँछिन्।
चस्मा लगाउने, गहुँगोरो वर्णका उनी उनको व्यवसायले प्रवर्धन गर्ने जस्तो ‘श्वेत गोरा क्यालिफोर्नियाका पुरुष’ को छविको ठ्याक्कै विपरीत थिए।
छापाखाना चलाउने परिवारमा हुर्किएका बेनर्जी सन् १९६० को अन्त्यतिर क्यानडा आउँदा उनको उमेर बिसको दशकमा थियो।
त्यसको छोटो समयमा नै उनी क्यालिफोर्निया पुगे र उनले लस एन्जलिसमा एउटा ग्यास स्टेसन खोले।
तर उनको महत्त्वाकाङ्क्षा ठूलो थियो।
“म त्यो कार चलाउन चाहन्छु,” महँगा सवारी साधनसहित मानिसहरू आउँदा उनले यस्तो भन्ने गरेको पार्टिजेला बताउँछिन्।
सन् १९७० को दशकमा उनले आफूले जोगाएको रकमबाट लस एन्जलिसमा ‘डाइभ बार’ खोले जसको नाम डेस्टिनी टु राखिएको थियो।
त्यहाँ मानिसहरूलाई आकर्षित गर्न उनले ब्याकग्यामन खेलदेखी, जादु र माटोमा महिलाहरूले खेल्ने कुस्तीसम्म आयोजना गराएका थिए।
सन् १९७९ मा एक जना रात्रिकालीन क्लबका प्रवर्द्धक पल स्नाइडरले बेनर्जीलाई साधरणतया समलिङ्गी क्लबहरूमा मात्रै देखा पर्ने पुरुष स्ट्रिपरहरू अर्थात् अर्धनग्न भएर प्रस्तुति दिने पुरुषहरूलाई भित्र्याएर महिलालक्षित वयस्क क्लब चलाउन सुझाव दिए।
यतिबेलासम्म उक्त बारले आधुनिकताको झल्को दिने नाम ‘चिपेन्डेल्स’ पाइसकेको थियो।
त्यसपछि पश्चिम लस एन्जलिसभर ती स्ट्रिप सोहरूबारे विज्ञापन गरिएको थियो।
महिला जम्माहुने सैलुनदेखि महिला शौचालयहरूसम्म पनि त्यसको प्रचार गरिएको पार्टिजेलाले आफ्नो पडकास्टमा बताएकी छन्।
तस्बिर स्रोत, Getty Images
चिपेन्डेल्सभन्दा अघि समलिङ्गी बारहरूमा मात्रै पुरुष स्ट्रिपरहरू देखिन्थे
प्लेबोइ क्लबबाट प्रेरित
ह्यु हेफनरको प्लेबोइ क्लबमा काम गर्ने महिलाहरूबाट प्रेरित ती पुरुष नर्तकहरूले कसिलो कालो प्यान्ट अनि कफ र कलर लगाउने गर्थे।
सन् १९८० को दशकको अमेरिकाका लागि ‘यो अकल्पनीय’ थियो।
तर सन् १९७० को दशकको यौनसम्बन्धी क्रान्तिका कारण बेनर्जीको चिपेन्डेल्स यस्तो समयमा स्थापना भयो जुन बेला महिलाको सशक्तीकरण र यौन स्वतन्त्रतालाई व्यवसायीकरण गर्ने कुरा उठिसकेको इतिहासकारहरू बताउँछन्।
महिलाहरू यस्तो ठाउँ चाहिरहेका थिए जहाँ उनीहरू ‘उन्मुक्त हुन सक्थे र दोषी ठहर गरिँदैन थिए,’ क्लबकी एक जना प्रवर्द्धक बारबरा लिगेटीले ‘ए एन्ड इ डकू सिरिज द सेकेट्रस अफ द चिपेन्डेल्स मर्डर’मा भनेकी छन्।
“उनीहरू एक अर्कालाई भेट्न सक्थे। केही पिउन सक्थे। पुट्ठोमा चिमोट्न सक्थे। र एउटा राम्रो देखिने पुरुषको जी स्ट्रीङमा २० डलर हालिदिनसक्थे।’
बेनर्जी वयस्कहरूका लागि डिज्नील्याण्ड बनाउन चाहान्थे जुन ब्रान्डले उनले नायक ठानेका हेफ्नर र वाल्ट डिज्नीलाई पनि चुनौती देओस्।
सन् १९८० को दशकको प्रारम्भमा उनले एमी अवार्ड विजेता निर्देशक र कोरियोग्राफर निक डि नोइआसँग भेटे जसले उनलाई उनको क्लबमा हुने ‘नृत्य प्रदर्शन’ लाई अद्यावधिक गर्न आवश्यक रहेकोमा विश्वस्त पारे।
तस्बिर स्रोत, Getty Images
निक डि नोइयाल चिपेन्डेल्सको रुपान्तरणमा प्रमुख भूमिका खेलेका थिए
चिपेन्डेल्सका नर्तकहरू र निर्माताहरूले उक्त प्रस्तुतिलाई पात्र तथा कथासहितको अन्तरक्रियात्मक नाट्यसामाग्रीजस्तो बनाएकोमा डि नोइआलाई जस दिन्छन्।
उनले चिपेन्डेल्सलाई न्यूयोर्कसम्म पुर्याए र सफल यात्रासँगै त्यसको विस्तार अमेरिकाका विभिन्न ठाउँमा गरियो।
सहकार्यपछिको चिसोपन
तर त्यसको केही समयपछि नै यी दुई व्यक्तिबीचको सम्बन्धमा चिसोपन देखापर्यो।
सञ्चारमाध्यमहरूले कोरियोग्राफर डि नोइआलाई ‘मिस्टर चिपेन्डेल’ का रूपमा प्रस्तुत गरिरहँदा बेनर्जी पृष्ठभूमिमा नै रहे र लस एन्जलिसमा बसेर उक्त कम्पनी सञ्चालन गर्ने काममा लागिरहेका थिए।
तनाव चर्कँदै गएपछि डि नोइआ र बेनर्जीले आफ्नो साझेदारी भङ्ग गरे।
डि नोइआले यूएस मेल नामक आफ्नै कम्पनी स्थापना गर्ने योजना बुन्न थाले।
वृत्तचित्र श्रृङ्खलामा डि नोइआको नयाँ योजनाका सहयोगी रहेका चिपेन्डेल्सका एक जना पूर्व एशोसिएट प्रोड्यूसरले उक्त कदमले बेनर्जीलाई “अनियन्त्रित” बनाइदिएको बताएका छन्।
बेनर्जीलाई चिन्ने धेरैले उनलाई एक जना ‘शङ्कालु’ पुरुषका रूपमा सम्झन्छन्।
“उनलाई लाग्दथ्यो यदि अरूले सफलता पाए भने उनीहरूले उनको सफलता खोस्नेछन्,” पार्टिजेला भन्छिन्।
प्रतिद्वन्द्वी स्ट्रिप क्लब अस्तित्वमा आएपछि बेनर्जीले कुनै बेला आफ्ना मित्र रहेका रकम लिएर ज्यान लिने (हिट म्यान) रे कोलोनलाई विरोधीहरूलाई समाप्त पार्न परिचालित गरे।
सन् १९८७ मा बेनर्जीको आदेशमा कोलोनले एकजना सहयोगीलाई भाडामा लिए जसले डि नोइआलाई उनको कार्यालयमा नै मारिदिए।
उक्त हत्यामा बेनर्जीको हात रहेको आशङ्का गरिएको भए तापनि एफबीआइका अनुसन्धानकर्ताहरूलाई त्यो प्रमाणित गर्न वर्षौँ लागेको थियो।
बेनर्जीका वकिल ब्रुस नाहिन भन्छन्, “उक्त हत्याले ब्रान्डलाई कुनै प्रभाव पारेन।”
तस्बिर स्रोत, Getty Images
चिपेन्डेल्स यति लोकप्रिय भयो कि उसको प्रस्तृति हुने ठाउँमा महिलाहरूको भीड लाग्थ्यो
अझ चिपेन्डेल्सको विस्तार युरोप र अस्ट्रेलियासम्म भयो।
सन् १९९१ मा चिपेन्डेल्सको युरोप यात्राको क्रममा बेनर्जीले कोलोनलाई आफ्नो क्लबका नर्तकहरूले सुरु गरेको एउटा प्रतिस्पर्धी समूहलाई समाप्त पारिदिन भनेका थिए।
एफबीआइको प्रमाणका अनुसार तिनीहरूलाई साइनाइड दिने योजना थियो जुन कोलोनले ‘स्ट्रबेरी’ नामक सहयोगीलाई दिएका थिए।
तर त्यसबाट चिन्तित ‘स्ट्रबेरी’ले कोलोनका बारेमा एफबीआइलाई उजुरी दिइन्।
कोलोन पक्राउ परे र उनलाई षडयन्त्र गरेको र हत्याका लागि मानिसलाई भाडामा लिन खोजेको आरोप लगाइएको थियो।
एफबीआइका अनुसार कोलोनको घरमा छापा मार्दा ४६ ग्राम साइनाइड विष फेला परेको थियो।
गिरफ्तार भएको कैयौँ महिनापछि पनि कोलोन बेनर्जीप्रति बफादार रहिरहे र आफू दोषी नभएको बताइरहे।
“स्टिभले वकिललाई शुल्क तिर्न इन्कार गर्दै आफूलाई सहयोग नगरेपछि मात्रै रे र उनको सम्बन्ध टुट्यो,” म्याकडोनल्ड भन्छन्।
एफबीआईको फन्दामा यसरी परे
सन् १९९३ मा एफबीआइले कोलोनलाई प्रयोग गरेर उनीहरूको कुराकानीको गोप्य रेकर्डिङ गर्दै पर्याप्त प्रमाण सङ्कलन गर्न सफल भएको थियो।
उनलाई ठगी, षडयन्त्र र हत्यारा परिचालित गरेको सहितका अभियोग लगाइएको थियो।
उनले आफू दोषी नरहेको बताएका थिए।
तस्बिर स्रोत, Getty Images
चिपेन्डेल्स युरोप र उत्तर अमेरिकासम्म विस्तार भएको थियो
केही महिना मुद्दा चलेपछि बेनर्जीले २६ वर्षको जेल सजाय र चिपेन्डेल्सको स्वामित्व अमेरिकी सरकारमा रहने गरी सजाय व्योहोर्न सहमति जनाए।
पार्टिजला भन्छिन्, ” बेनर्जीका वकिलहरूले उक्त व्यवसाय जफत हुनबाट रोक्न कडा प्रयास गरेका थिए तर उनीहरू सफल भएनन्। उनलाई सजाय दिइनु एक दिन अघि अक्टोबर १९९४ मा उनले जेलमा आत्महत्या गरेका थिए।”
दक्षिण एशियाको इतिहासबारे बर्क्लीमा पथप्रदर्शन गर्ने अनिर्वान चटर्जी एकदमै कम भारतीय अमेरिकीहरूलाई उनीबारे थाहा भएको बताउँछन्।
उनले स्टिभ बेनर्जीको क्यालिफोर्नियाको व्यवसायको कथा भारतीय अमेरिकी समुदायबारेका आमधारणा भन्दा फरक रहेको बताए।
आफ्नो अनुसन्धानहरूमा पार्टिजलाले बेनर्जीले क्यालिफोर्नियाको व्यावसायिक समाजमा भिज्न निक्कै मेहेनत गरेको फेला पारेकी छन्।
तर उनले अन्तरवार्ता गरेका व्यक्तिहरू उनको भारतीय लवजले त्यसमा अप्ठेरो पारेको सम्झन्छन्।
उनी भन्छिन्, “यो स्पष्ट छ कि अरू मानिसहरूले उनलाई एकदमै विदेशी र एकदमै भारतीय देख्थे।”
“मृत्युमा समेत मानिसहरूले सबैभन्दा पहिले उनको लवजको नक्कल गरेका थिए।”