

तस्बिर स्रोत, Getty Images
युक्रेनमा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले व्यापक रूपमा भ्रष्टाचारविरोधी अभियान सुरु गरेसँगै सरकारका वरिष्ठ अधिकारीहरूले राजीनामा दिन थालेका छन्।
मङ्गलवार सरकारका एकजना शीर्ष सल्लाहकार, चार जना सहायक मन्त्री र पाँच क्षेत्रीय गभर्नरहरूले पदत्याग गरेका छन्।
हालै अधिकारीहरूमाथि घुस मागिएका आरोपदेखि लिएर महङ्गो मूल्यमा खाद्यान्न किनिएका विवरणहरू सार्वजनिक गरेका थिए।
एक जनामाथि भव्य जीवनशैली अपनाएको आरोप लगाइएको थियो।
राष्ट्रपतिका एक जना सहयोगीले जेलेन्स्कीले कानुन सबैलाई बराबर हुनुपर्ने जनताको माग पूरा गर्ने गरी काम गरेको जनाएका छन्।
राष्ट्रपति जेलेन्स्कीले स्वीकृतिप्राप्त काममा बाहेक सरकारी कर्मचारीहरूलाई देश छाड्न प्रतिबन्ध लगाएका छन्।
आरोपहरू
मङ्गलवार सबैभन्दा पहिले राजीनामा दिने राष्ट्रपति कार्यालयका सहायक प्रमुख थिए जो रुसको हमलापछि बारम्बार सरकारको प्रवक्ताका रूपमा देखिएका थिए।
उनलाई युक्रेनी खोज पत्रकारहरूले युद्धभर महँगा स्पोर्स कार प्रयोग गरेको आरोप लगाएका छन्। जसलाई जवाफ दिने क्रममा उनले कुनै गलत नगरेको बताएका छन्।
सहायक रक्षा मन्त्री समेत राजीनामा दिनेमा छन् जसबारे सेनाका लागि खासै नचिनिएको कम्पनीबाट महङ्गोमा खाद्यान्न किनेका विवरणहरू सार्वजनिक भएका थिए। रक्षा मन्त्री समेत यसबारेको छानबिनमा छन्।
विद्युत् जेनरेटरको खरिद सम्बन्धमा झण्डै साढे तीन लाख डलर घुस लिएको आशङ्कामा शनिवार त्यहाँका सहायक पूर्वाधार मन्त्रीलाई पक्राउ गरिएको थियो।
युक्रेनमा भ्रष्टाचार
युक्रेन उच्च भ्रष्टाचार हुने देशमध्येमा पर्छ।
ट्रान्सपरेन्सी इन्टरन्याश्नलले सन् २०२१ मा निकालेको एक प्रतिवेदनमा भ्रष्टाचार हुने देशको सूचीमा युक्रेनलाई १८० मध्ये १२२ औँ स्थानमा राखेको थियो।
युरोपेली सङ्घले आफ्नो क्षेत्रीय समूहमा सङ्लग्न हुनका लागि भ्रष्टाचारको अवस्थामा सुधार आउनुपर्ने एउटा मुख्य माग राखेको थियो।
पश्चिमा साझेदारहरूबाट अर्बौँ डलरमा सहायता लिएर त्यसको परिचालन गर्नका लागि समेत युक्रेनले आफूलाई भ्रष्टाचारसँग जुझ्ने मामिलामा बलियो देखाउनुपर्छ।