

नेपालको बाजुरा जिल्लामा केन्द्रबिन्दु बनाएर गएको एउटा शक्तिशाली भूकम्पको धक्का पश्चिम नेपाल र भारतका विभिन्न स्थान महसुस गरिएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार उक्त भूकम्प लोकल म्याग्निट्यूडमा ५.९ मापन गरिएको छ। यसलाई मध्यम श्रेणीको भूकम्प मानिन्छ।
स्थानीय समयानुसार उक्त भूकम्प दिउँसो २:४३ बजे गएको केन्द्रले जनाएको छ।
भूकम्पबाट कहाँ कस्तो क्षति भयो भन्ने पूर्ण विवरण आउन बाँकी छ। तर सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख अशोक सिंहका अनुसार बाजुरा जिल्लामा केही घर भत्किएको जानकारी प्राप्त भएको छ।
उक्त भूकम्प भारतको राजधानी दिल्लीसम्म महसुस गरिएको जानकारी दिल्लीस्थित बीबीसी संवाददाताहरूले दिएका छन्। सामाजिक सञ्जालमा पनि प्रयोगकर्ताहरूले भूकम्पबारे चर्चा गरिरहेका छन्।
पश्चिम नेपालमा भूकम्पको जोखिम कति ठूलो?
गत कात्तिक महिनामा डोटी जिल्लामा लोकल म्याग्निट्यूड ६.६ को भूकम्प गएको थियो। उक्त भूकम्पका कारण धनजनको पनि क्षति भएको थियो।
“डोटीको भूकम्पपछि परकम्पहरू पनि गए। अहिले बाजुराको भूकम्प परकम्प नभई छुट्टै भूकम्प हो,” राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकी प्रमुख मोनिका झाले बीबीसीसँग भनिन्।
“यसले उक्त क्षेत्रमा भूकम्पीय गतिविधि बढेको सङ्केत गर्छ,” उनले भनिन्।
पश्चिम नेपालमा ५०० वर्षभन्दा बढी समयदेखि महाभूकम्प नगएकाले त्यहाँको भूगर्भमा धेरै ऊर्जा सञ्चित भएर बसेको भूगर्भविद्हरू बताउँछन्। तर डोटी र बाजुरामा गएका भूकम्पहरू सञ्चित ऊर्जा निष्कासनका लागि पर्याप्त नभएको उनीहरूको भनाइ छ।
कात्तिक ९ गते डोटी केन्द्रबिन्दु भएर ६.६ म्याग्निट्यूडको भूकम्प जाँदा छ जनाको मृत्यु भएको थियो।
झाका अनुसार पोखरादेखि पश्चिम भारतको देहरादुनसम्म निकै लामो समय ठूला भूकम्पीय गतिविधि नभएकाले सो क्षेत्रमा भूकम्प जाने ठूलो जोखिम भएको क्षेत्र हो।
सन् १५०५ मा उक्त क्षेत्रमा भूकम्पका कारण ठूलो विनाश भएको थियो।
“अहिले भूकम्पीय गतिविधि दोहोरिँदा हामी विशेष रूपमा सजग हुनुपर्छ,” झाले भनिन्।
‘काठमाण्डू यसरी पूर्वतिर सर्यो, पश्चिममा गएर अडियो’
विसं २०७२ सालमा गोरखा जिल्लामा केन्द्रबिन्दु भएर गएको विनाशकारी भूकम्पका दरारहरू पोखराभन्दा पश्चिमतर्फ देखिएका थिएनन्।
गोरखा भूकम्पबारे विद्यावारिधि गरेका भूकम्पविद् लोकविजय अधिकारीका अनुसार पश्चिम नेपालमा म्याग्निट्यूड ८ वा त्योभन्दा ठूलो महाभूकम्प जान सक्ने जोखिम छ।
“म्याग्निट्यूड ६ बाट म्याग्निट्यूड ८ मा भूकम्प पुग्नका लागि १,००० गुना धेरै शक्ति आवश्यक पर्छ,” भूकम्पविद् अधिकारीले यसअघि बीबीसीलाई भनेका थिए।
“त्यसैले यसरी जाने साना भूकम्पका कारण शक्ति निष्कासन हुँदै जोखिम कम भएको सोच्नु हुँदैन।”
पश्चिम नेपालको कुन भागमा कहिले ठूलो भूकम्प जान्छ भन्न नसकिने विज्ञहरू बताउँछन्। तर उनीहरू भूकम्प गएको ठाउँसँगै जोडिएका अरू खण्डमा भूकम्प जाने सम्भावनालाई उनीहरू अस्वीकार गर्दैनन्।
यसरी हल्लाएको थियो भूकम्पले
नेपालमा किन गइरहन्छ भूकम्प?
नेपालमा प्रत्येक दिन १०-१२ वटा भूकम्प गइरहन्छन्। तर तीमध्ये निकै कम मात्र हामीले महसुस गर्छौँ। हामीले महसुस गरेका वा लोकल म्याग्निट्यूड ४ भन्दा माथिका भूकम्पको विवरण भूकम्प मापन केन्द्रले सार्वजनिक गर्छ।
भारत र तिब्बतका बीचमा पर्ने नेपाल उच्च भूकम्पीय जोखिम भएको क्षेत्रमा पर्छ।
भारतीय उपमहाद्वीपको भूगर्भमा रहेको चट्टानहरूको तह उत्तरतिर गइरहेको छ र युरेशिएन प्लेटमा जोतिइरहेको छ। भूगर्भशास्त्रीहरूले यसलाई “भारतीय उपमहाद्वीपलाई बिस्तारै युरेशिएन महाद्वीपले निलिरहेको” पनि भन्ने गरेका छन्।
पूरै हिमालय भएको क्षेत्र ती दुई प्लेटहरू ठोक्किने स्थान हो। त्यसैले हिमालयछेउछाउ भूकम्पको सम्भावना सधैँ हुन्छ।
तीभन्दा कम शक्तिशाली भूकम्पले चाहिँ जमिनको सतहमा खासै ठूलो प्रभाव पार्दैनन्। तर जमिनको भित्री भागमा ठूला भूकम्पका कारण खलबलिएको शक्तिलाई पुरानै अवस्थामा फर्काउन तिनको महत्त्वपूर्ण भूमिका हुने विज्ञहरू बताउँछन्।
केही वर्षअघि गएको गोरखा भूकम्प ७.८ म्याग्निट्यूडको थियो। भूकम्प र त्यसपछिका परकम्पहरूले देशभरिका विभिन्न जिल्लामा भौतिक मात्र नभई ठूलो मानवीय क्षति पनि गरे।
उक्त भूकम्पको शृङ्खलाका कारण परकम्पका रूपमा भूगर्भमा सञ्चित शक्ति बाहिर निस्किन खोजिरहेको भए पनि काठमाण्डूको जमिनमुनि आएर जम्मा भएकाले जोखिम अझै नटरेको विज्ञहरू बताउँछन्।
नेपाल भूकम्पः गोरखा भूकम्पले ‘ढाड भाँच्यो तर मेरो रहर भाँच्न सकेन’