

तस्बिर स्रोत, Getty Images
दक्षिणी भारतीय राज्य तमिलनाडुमा बिहारका मजदुरमाथि साङ्घातिक हमला भइरहेको भन्दै झूटो खबर फैलाएको आरोप लागेका एकजना भारतीय यूट्यूबरले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्।
बिहारका चर्चित यूट्यूबर मनिष कश्यपलाई मिथ्या सूचना फैलाएको आरोपमा बिहार प्रहरीले खोजी गरिरहेको थियो।
तमिलनाडुमा प्रवासी कामदारमाथि निरन्तर हमला भइरहेको भन्दै उनले मिथ्या सूचना फैलाएको प्रहरीको आरोप छ।
सामाजिक सञ्जालमा तमिलनाडुमा प्रवासी कामदारमाथि हमला भएको अफवाह फैलिएपछि त्यहा कार्यरत नेपाली मजदुरहरूले समेत आफूहरूले “असुरक्षा महसुस गरेको” र “त्रासमा काम गरिरहेको” बताएका थिए।
बिहार प्रहरीले ट्वीट गर्दै मनिष कश्यपले आत्मसमर्पण गरेको जानकारी दिएको हो।
त्यसबारे जानकारी दिँदै बिहार प्रहरीले ट्विटरमा भनेको छ, “तमिलनाडुमा कार्यरत बिहारका बासिन्दाबारे झूटो, भ्रामक र उन्मादपूर्ण भिडिओ प्रसारित गर्ने र आर्थिक अपराधसम्बन्धी मुद्दा नम्बर ३/२३ र ४/२३ का अभियुक्त मनीष कश्यपले… बेतियाको जगदीशपुर थानामा आत्मसमर्पण गरेका छन्।”
तस्बिर स्रोत, EPA
नेपाली कामदारलाई पनि असर
कश्यपसहित कैयौँ व्यक्तिहरूले सामाजिक सञ्जालमा तमिलनाडुमा बिहारी मजदुरहरूमाथि साङ्घातिक हमला भएको र कतिपयको हत्या गरिएको अफवाह फैलाएपछि त्यसको असर उक्त राज्यमा कार्यरत नेपाली कामदरामा पनि परेको थियो।
दुई साताअघि बीबीसी न्यूज नेपालीसँग कुराकानी गर्दै उक्त राज्यको विभिन्न स्थानमा कार्यरत नेपाली कामदारहरूले “चिन्तित बनेको” बताएका थिए।
त्यस क्षेत्रमा नेपालीहरूलाई पनि “हिन्दीभाषी”का रूपमा व्यवहार हुने भएकाले आफूहरू “त्रासमा बसिरहेको” केही नेपाली कामदारको भनाइ थियो।
यद्यपि प्रवासी नेपाली सम्बद्ध एउटा संस्थाका नेताले नेपालीहरूमाथि “कुनै पनि खालको हिंसा नभएको” भन्दै “नडराउन” नेपालीहरूलाई अपिल गरेका थिए।
भारतस्थित नेपाली राजदूत शङ्कर शर्माले उक्त क्षेत्रका नेपाली नागरिकहरूसँग दूतावास निरन्तर सम्पर्कमा रहेको र “कुनै अप्रिय घटना भए दूतावासलाई तुरुन्तै जानकारी गराउन” नेपाली समुदायलाई आग्रह गरिएको जानकारी दिएका थिए।
कसरी फैलियो अफवाह?
तस्बिर स्रोत, EPA
केही साताअघि देखि तमिलनाडुमा कार्यरत उत्तर भारतीय विशेषगरी बिहारका मजदुरहरूमाथि कुटपिट भएका विवरण सामाजिक सञ्जालबाट सार्वजनिक भइरहेका थिए।
सामाजिक सञ्जालमा बिहारका मजदुरहरूलाई कुटपिट गरिएको भन्दै पुराना भिडिओहरू पनि प्रसारित गरिएको तथ्य जाँच गर्ने कतिपय भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
उक्त विषयलाई लिएर बिहार र तमिलनाडु राज्यका मुख्यमन्त्रीहरूले कुराकानी पनि गरेका थिए।
बीबीसी हिन्दीले जनाएअनुसार विशेषगरी बिहारमा केन्द्रको सत्ताधारी भारतीय जनता पार्टी भाजपाले तमिलनाडुमा त्यस्तो हिंसा भएको भन्दै त्यहाँको सरकारको आलोचना गरेको थियो।
तमिलनाडु सरकार र बिहार सरकारले समेत उक्त विषयलाई “अफवाह” भनेका थिए।
बिहार र तमिलनाडु दुवै राज्यमा भाजपा सत्तामा छैन र त्यहाँ अन्य दलका सरकार छन्।
त्यसले गर्दा ती राज्यका सरकारहरूले भाजपातर्फ लक्षित गर्दै “जानाजान” कतिपयले अफवाह फैलाएको आरोप लगाएका थिए।
तमिलनाडुमा कति छन् नेपाली?
तमिलनाडु राज्यका विभिन्न स्थानमा नेपालीहरू सुरक्षा गार्ड, निर्माण, होटल तथा रेस्टुराँ, पसलहरू तथा विभिन्न उद्योगमा पनि कार्यरत रहेको त्यहास्थित नेपालीहरू बताउँछन्।
तर उक्त राज्यमा नेपाली कामदारको सङ्ख्या कति छ भन्ने यकिन विवरण पाउन सहज नभएको दूतावासका अधिकारी तथा प्रवासी नेपाली सङ्घ संस्थाहरूको भनाइ छ।
तमिलनाडुको तिरुपुरमा कार्यरत प्रवासी नेपाली एकता मञ्चका केन्द्रीय सङ्गठन प्रमुख रविन्द्र ओखेडाका भनाइमा उक्त राज्यमा हजारौँको सङ्ख्यामा नेपाली रहेका छन्।
तिरुपुर तथा आसपास क्षेत्रमा मात्र आफू ७०० भन्दा बढी नेपालीको सम्पर्कमा रहेको उनको दाबी छ।
“यहाँ हजारौँको सङ्ख्यामा नेपाली काम गर्छन्,” उनले भने, “कतिले वर्षौँदेखि यो राज्यमै बसेर काम गरिरहेका छन्।”