Breaking News

ब्लू ह्वेल: आफू बसेको टापुबाट लगभग लोप भएका ह्वेलहरू किन फर्किए

  • जोनाथन एमस
  • बीबीसी विज्ञान संवाददाता

तस्बिरको क्याप्शन,

एन्टार्क्टिक ब्लू ह्वेल साउथ जर्जियामा

वैज्ञानिकहरूले साउथ जर्जियाको टापुमा नीलो ह्वेलहरू देखापरेको घटना वास्तविक रहेको र त्यो सम्भवत: केही समययता जारी रहेको हुनसक्ने बताएका छन्।

ब्रिटेनको देश बाहिरको भूभागमध्ये एक रहेको उक्त टापुमा यसै वर्षको शुरूमा गरिएको सर्वेक्षणमा ५८ वटा व्हेलहरू देखापरेका थिए।

त्यसलाई शुरूमा आश्चर्यजनक भनिएको थियो किनभने त्यसअघि एकदमै कम सङ्ख्यामा मात्रै ह्वेलहरू देखापरेका थिए।

तर ३० वर्षको तथ्याङ्कको पुनर्मूल्याङ्कनले ह्वेलहरूको भिड अस्वाभाविक रूपमा वृद्धि नभएको देखाएको छ।

तस्बिरको क्याप्शन,

साउथ जर्जिया दशौँ लाख किङ पेन्गुइनहरूको बासस्थान हो

त्यसले सब एन्टार्क्टिक टापु नजिकैको समुद्री क्षेत्रमा उनीहरूको पुन: आगमन भइरहेको सङ्केत दिएको बताइन्छ।

बीसौँ शताब्दीको शुरूमा दक्षिण जर्जिया व्यावसायिक ह्वेल शिकारको केन्द्रविन्दु रहेको थियो।

ह्वेलहरूको उसबेलाको संहार

तस्बिरको क्याप्शन,

उच्चतम विन्दुमा हुँदा हरेक वर्ष ३००० ब्लू ह्वेलसम्म मारिन्थे

भालाजस्तो हतियारको चुच्चोमा ग्रिनेड राखेर बाफबाट चल्ने डुङ्गाको प्रयोग गरी त्यहाँका लगभग सबै ठूला ह्वेलहरू नष्ट गरिएका थिए।

सबैभन्दा बढी शिकार गरिएको एउटा वर्षमा तीन हजार ब्लू ह्वेल मारिएका थिए।

त्यसबेला व्यापक शिकार गरिएका एलिफेन्ट शीलजस्ता समुद्री जीव केही समयपछि नै देखा पर्न थालेपनि मूलत: ब्लू ह्वेल देखापरिरहेको थिएन।

व्यावसायिक शिकार समाप्त भएपछि पनि यी जनावरहरू नदेखिँदा कतिपय विज्ञहरूले साउथ जर्जियामा अब तिनीहरू उल्लेख्य सङ्ख्यामा देखापर्नेमा आशङ्का व्यक्त गरिरहेका थिए।

उक्त पुनर्मूल्याङ्कनको नेतृत्व गरेकी सुजाना काल्डेरनले बीबीसी न्यूजसँग भनिन्, “त्यसलाई फेरि उस्तै स्थितिमा पुर्‍याउन नसक्ने गरी कसरी कुनै निश्चित जनसङ्ख्यालाई नष्ट गर्न सकिन्छ भन्ने उदाहरणका रूपमा हेर्ने गरिएको थियो।”

उनले जनसङ्ख्या समाप्त पारिएसँगै साउथ जर्जियासम्बन्धी आफ्ना सम्झनाहरू ब्लू ह्वेलहरूले गुमाएको हुनसक्ने बताइन्।

तस्बिरको क्याप्शन,

सुसाना कालडेरन पूर्वसैन्य सोनोबोयस भन्ने यन्त्र प्रयोग गरेर ह्वेलको आवाज सुन्ने गर्छिन्

उक्त भूभाग तीव्र करेन्टसहित एन्टार्टिकबाट आहारा आउने मार्गमा पर्दछ। ह्वेलहरूले एकदमै मनपराउने साना क्रीलहरू त्यहाँ पाइने गर्छ।

व्यावसायिक रूपमा शिकार गरिएका कारण एकाध ह्वेलहरूमात्रै बाँकी रहेकाले भावी पुस्तामा उक्त टापुमा पाइने आहारा बारेको ज्ञान पुग्न नसकेको हुनसक्ने विज्ञहरू बताउँछन्।

सुसाना भन्छिन्, “सम्भवत: उहिले तिनीहरूले त्यो थाहा पाएका हुनसक्छन्। साउथ जर्जिया आहारा उत्पादनका लागि एकदमै राम्रो ठाउँ हो। यसको उत्पादनशिलतामा कहिल्यै केही भएको छैन। आहारा बाँकी नभएर त्यहाँ व्हेलहरू आउन छाडेका थिएनन्।“

वैज्ञानिकहरूले अवलोकनका क्रममा ३ दशकयता प्राप्त भएका तथ्याङ्क पनि अनुसन्धानका क्रममा विश्लेषण गरेका थिए। त्यसक्रममा अनुसन्धानकर्ताहरूले अघि बढाएका व्यवस्थित सर्वेक्षणबाहेक नौसैनिक जहाज र क्रुज पानीजहाजबाट दिइएका विवरणलाई पनि समावेश गरिएको थियो।

अनुसन्धानका क्रममा ब्लू ह्वेलहरूको आवाज पहिचान गर्न सक्ने पानीभित्र राखिएको सुन्ने यन्त्रबाट प्राप्त भएको तथ्याङ्कलाई पनि विश्लेषण गरिएको थियो।

तस्बिरको क्याप्शन,

दक्षिण जर्जियास्थित ग्रीटविकेन ह्वेल केन्द्र, सन् १९३२

सबै सूचनाले हालैका वर्षहरूमा उक्त टापुमा ब्लू ह्वेलहरूको सङ्ख्या बढेको देखाएको हो।

फेब्रुअरी महिनामा मात्रै ५८ वटा ब्लू ह्वेल देखिएका थिए जसलाई महत्त्वपूर्ण भनिएको छ। साउथ जर्जियामा सन् २०११ देखि २०२० भित्र ४१ वटा त्यस्ता ह्वेल देखापरेका तस्बिरहरूका आधारमा निर्क्यौल गरिएको थियो।

सहअनुसन्धानकर्ता जेनिफर ज्याकसनका अनुसार शुरूमा सर्वेक्षण गर्दा त्यो ब्लू ह्वेलहरूमा केन्द्रित गर्ने सोचाइ थिएन।

तस्बिरको क्याप्शन,

आइसबर्ग ए६८ए

“हामीले खासमा ह्वेलहरू हेरिरहेका थियौँ जब हामीले ब्लू ह्वेलहरू देख्यौँ। मलाई लाग्छ यो आश्चर्यजनक प्रक्रिया होइन। हामीले आगामी वर्षहरूमा पनि नीला ह्वेलहरू देख्नेछौँ। हामीले उनीहरूले साउथ जर्जियाको समुद्र किन प्रयोग गरिरहेका छन् भनेर बुझ्नुपर्छ।”

ह्वेल वैज्ञानिकहरूले क्रुज जहाजहरूमाझ लोकप्रिय रहेका क्षेत्रमा बढी ह्वेलहरू देखिनुको कारणसहित अन्य विषयमा अनुसन्धान गर्नुपर्ने उल्लेख गरेका छन्।

उनीहरूले उक्त समुद्री क्षेत्रमा रहेको चारकुना भएको ४२ सय वर्ग किलोमिटरमा फैलिएको विश्वको सर्वाधिक ठूलो बरफको टाकुरामा हुने गतिविधिलाई पनि नजिकबाट नियालिरहेका छन्।

सुसाना कालडेरन भन्छिन्, “साउथ जर्जिया मृत बरफको थुप्रोको घरजस्तै हो। उनीहरू त्यहाँ मर्नका लागि जानछन्। र यो निक्कै ठूलो छ”

“यसले उत्पादनशिलतामा कस्तो प्रभाव पार्छ? यसले क्रिल(ह्वेलको आहारा बन्ने सानो माछा) लाई कस्तो असर गर्छ? अनि त्यसले ह्वेललाई कस्तो प्रभाव पार्छ यी महत्त्वपूर्ण प्रश्नहरू हुन्।”

Check Also

नेपाल मनसुन: सिन्धुपाल्चोकका बाढीपीडित भन्छन्, ‘सर्वस्व लग्यो, अब सरकारको आस’

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन नेपाल मनसुन: सिन्धुपाल्चोकका बाढीपीडित भन्छन्, ‘सर्वस्व लग्यो, अब सरकारको …

NTA Requests For Continuous Telecom & Internet Services At Flood Areas

Nepal Telecommunication Authority (NTA) has recently notified all stakeholders for continuous telecom and internet services …

Leave a Reply

Your email address will not be published. Required fields are marked *