narvane

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको भ्रमणमा आएका भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेसँगको भेटवार्तामा दुई देशबीचको सम्बन्धमा देखिएका समस्यालाई टुङ्गोमा पुर्‍याउनुपर्ने धारणा राखेको अधिकारीहरूले बताएका छन्।

भारतले नेपाली भूभाग लिपुलेकमा सडक बनाएको भन्दै अघिल्लो वर्ष ओली सरकारले दिल्लीलाई कूटनीतिक नोट पठाएयता दुई देशबीचको सम्बन्धमा गतिरोध देखिएको थियो।

त्यसबेला चीनतर्फ सङ्केत गर्दै नेपालले अर्को देशको इशारामा सीमाको विषय उठाएको हुनसक्ने अभिव्यक्ति भारतीय स्थलसेनाध्यक्ष नरवणेले दिएपछि विवाद उत्पन्न भएको थियो।

नेपाली सेनाको मानार्थ महारथीको सम्मान लिन तीन दिने भ्रमणमा आएका नरवणेलाई प्रधानमन्त्री ओलीले दुई देशबीचका समस्या समाधान गरी आपसी सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन नेपाल इच्छुक रहेको बताएको प्रधानमन्त्रीका परराष्ट्र मामिलाका सल्लाहकार राजन भट्टराईले बीबीसीलाई बताए।

भेटवार्तामा ओलीले के भने?

सल्लाहकार भट्टराईका अनुसार रक्षा मन्त्रीको पनि जिम्मेवारी सम्हालिरहेका ओलीसँग प्रधानमन्त्री निवास बालुवाटारमा भारतीय सेनाध्यक्षले करीब ३५ मिनेट भेटवार्ता गरेका थिए।

त्यसअघि उनले बिहीवार शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी प्राप्त गरेका थिए।

शुक्रवार भएको कुराकानीमा प्रधानमन्त्रीको भनाइ उदृत गर्दै सल्लाहकार भट्टराई भन्छन्, “भारत हाम्रो नजिकको छिमेकी भएका नाताले मनार्थ महारथी दिने परम्परागत अभ्यास रही आएको छ। हाम्रो दुईवटा मुलुकबीचको सम्बन्ध राम्रो छ र राम्रो हुनुपर्छ। तर हाम्रा केही समस्याहरू छन् त्यसलाई वार्ताका माध्यमबाट टुङ्ग्याउनुपर्छ र सम्वादको माध्यमबाट समस्यालाई हल गरेर सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने हाम्रो इच्छा रहेको छ।”

भारतीय स्थल सेनाध्यक्षलाई भारतको पनि त्यस्तै इच्छा रहेको आफूले पाएको बताउँदै त्यसलाई अघि बढाएर जाँदा नेपाल भारत सम्बन्ध अझ फराकिलो र बलियो हुनसक्ने राय व्यक्त गरेको बताइएको छ।

भट्टराई भन्छन्, “भारतीय सेनाध्यक्षले समस्याहरू वार्ताबाट निदान गरेर अघि बढ्ने परम्परा नेपाल र भारतबीच रहिआएको छ यसलाई अघि बढाएर लानुपर्छ भन्ने धारणा राख्नुभयो।”

नरवणेको नेपाल भ्रमणको केही दिन अघि मात्रै भारतीय गुप्तचर निकाय ‘रअ’ का प्रमुख सामन्तकुमार गोयलले काठमाण्डू आएर प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका थिए।

आशा र चिन्ता

सुरुमा गुप्तचर निकाय र त्यसपछि सेनाध्यक्षको तहमा भ्रमण भएपछि कतिपय विश्लेषकहरूले नेपाल भारत सम्बन्ध सुरक्षा संयन्त्र र खुफिया एजेन्सीको तहमा अघि बढेको र त्यसले राजनीतिक र कूटनीतिक सम्बन्धलाई किनारा लगाउनसक्ने चिन्ता पनि व्यक्त गरेका थिए।

तर बीबीसीसँग कुरा गर्दै परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले यी दुई भ्रमणले नेपाल भारत सम्बन्धमा नयाँ स्थिति निर्माण गरेको र अब नेपाल र भारतबीच छलफलको श्रृङ्खला अघि बढ्ने अपेक्षा आफूले गरेको बताएका थिए।

मानार्थ दर्ज्यानी ग्रहण गरेपछि राष्ट्रपति भण्डारी र नरवणेबीच शिष्टाचार भेट भएको थियो। त्यसमा राष्ट्रपति भण्डारीले पनि नेपाल भारतबीच संवाद र समझदारीमा जोड दिएकी थिइन्।

उनका सूचना तथा सञ्चार विज्ञ टीका ढकालले सामाजिक सञ्जाल ट्विटरमा राष्ट्रपति भण्डारीले नेपाल भारतबीचको नजिकको सम्बन्धलाई मित्रवत र बलियो राख्न दुवै देशले निरन्तर मेहनत गर्नुपर्ने धारणा राखेको जानकारी दिएका छन्।

तीन दिने भ्रमणमा भारतीय सेनाको विशेष विमानमार्फत काठमाण्डू आएका नरवणे शुक्रवार स्वदेश फर्कँदै छन्।

उनले बिहिवार नेपाली सेनाका प्रधानसेनापती पूर्णचन्द्र थापा र उच्च सैनिक अधिकारीहरूसँग छलफल गरेका थिए।

भारतीय दूतावासका अनुसार दुवै पक्षले नेपाल र भारतबीचको सैन्य सम्बन्ध र रक्षा सम्बन्धलाई मजबुत बनाउने विषयमा छलफल गरेका थिए भने नेपाली सेनाका उच्च अधिकारीहरूले नरवणेलाई ‘बिफ्रिङ’ दिएको पनि पनि भारतीय दूतावासले जनाएको छ।

सैनिक मूख्यालयमा आयोजित कार्यक्रममा भारतीय स्थल सेनाध्यक्षले भारत सरकारको तर्फबाट नेपाली सेनालाई दुईवटा फिल्ड अस्पतालका लागि आवश्यक स्वास्थ्य उपकरणहरू हस्तान्तरण गरेका थिए।

नेपाली सेनाको मानार्थ महारथीको दर्जा पाउने उनी १८ औँ भारतीय सेनाध्यक्ष हुन्।

सन् १९५० मा सुरु भएपनि बीचमा केही समय रोकिएको उक्त परम्परा अन्तर्गत हालसम्म १४ जना नेपाली प्रधानसेनापतिले भारतीय सेनाको मानार्थ महारथीको सम्मान पाएको नेपाली सेनाले जनाएको छ।

सीमा विवादका माझ नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र समेटेर नयाँ नक्सा जारी गरेपछि दुई देशबीचको सम्बन्ध तिक्ततापूर्ण बनिरहँदा भएको भारतीय सेनाध्यक्षको भ्रमणलाई परम्परा धान्ने अभ्यासका रूपमा मात्रै लिन नहुने कतिपय विज्ञहरूले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *