Breaking News

नेपाल-भारत सम्बन्धः भारतीय गुप्तचर निकाय र सेनाका प्रमुखको भ्रमणपछि ‘नयाँ स्थिति निर्माण’

  • शरद केसी
  • बीबीसी न्यूज नेपाली

भारतीय गुप्तचर प्रमुखले ‘खुला’ ढङ्गले नेपालको भ्रमण गरेपछि उत्पन्न तरङ्ग बाँकी हुँदै भारतीय सेनाका प्रमुखले परम्परागत रूपमा चल्दै आएको नेपाली सेनाको मानार्थ महारथीको सम्मान लिन नेपाल आएका छन्।

कालापानी क्षेत्रको सीमा विवादले निम्त्याइदिएको नेपाल र भारतबीचको तिक्तता र त्यससँगै देखिएको संवादहीनता कायम हुँदै गर्दा भारतका दुई सुरक्षा निकायाका शीर्षस्थ व्यक्तिले नेपाल भ्रमण गरेका हुन्।

नेपालमा कोरोनाभाइरस महामारी अझै बढ्दो छ। अन्तर्राष्ट्रिय सीमानाका पनि बन्द छन्। तर गोयल र नरवणेका लागि नेपाल भ्रमण गर्न ती कुनै कुरा बाधक भएनन्।

कतिपयलाई लाग्न थालेको छ – दुवै देश राजनीतिक तहको संवादको बाटोमा फर्किने वातावरण बन्दै गएको छ। परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली पनि त्यो संवाद अगाडि बढ्ने आशामा देखिन्छन्।

बीबीसीसँग छोटो कुरा गर्दै उनले भने, “भारतीय प्रधानमन्त्रीको प्रतिनिधिको रूपमा भारतीय गुप्तचर प्रमुख आइसकेपछि र भारतीय सेना प्रमुखको भ्रमणले केही नयाँ स्थिति निर्माण गरेको छ, अब नेपाल-भारतबीच छलफलहरूको शृङ्खला अगाडि बढ्ने आशा छ।”

मोदीका ‘तीन सन्देश’

भारतीय गुप्तचर निकाय ‘रअ’ का प्रमुख सामन्तकुमार गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए।

प्रधानमन्त्रीका विदेशमामिला सल्लाहकार राजन भट्टराईका अनुसार गोयलको भ्रमणले दुई प्रधानमन्त्रीबीच सन्देश आदान-प्रदानको काम गरेको छ। गोयलमार्फत् नरेन्द्र मोदीले तीनवटा सन्देश ओलीले पाए।

पहिलो: भारत दुई देशबीचको सम्बन्धलाई राम्रो बनाउँदै निरन्तर रूपमा अगाडि बढाउन चाहन्छ।

दोस्रो: हामीबीच केही समस्या छन्, ती वार्तामा बसेरै समाधान हुन्छन्। शान्तिपूर्ण हिसाबले टुङ्ग्याउनुपर्छ भन्ने मान्यतामा भारत छ।

तेस्रो: समस्या समाधानपछि दुई देशबीचको सम्बन्धलाई अझ नयाँ उचाइमा पुर्‍याऔँ भन्ने भारतको चाहना छ।

पहिलो बुँदामा भनिएको विश्वासको वातावरण वातावरण बनाउन वा उक्त इच्छा प्राप्तिको निम्ति दोस्रो बुँदामा प्रवेश गर्न राजनीतिक वा कूटनीतिक संवादको चरणको खाँचो पर्ने ठानिन्छ।

कतिपयले त्यसको निम्ति राजनीतिक तहको भ्रमण हुने आकलन पनि गर्न थालेका छन्।

राजनीतिक भ्रमण होला त?

जानकारहरूका विश्वासमा त्यो प्रक्रिया अब क्रमश: अगाडि बढ्नेछ। तर कुन तहबाट कहिलेदेखि हुन्छ भन्ने बेला भइसकेको छैन।

अडिओ क्याप्शन सुरु हुँदैछ,

रअ प्रमुखलाई प्रधानमन्त्रीले भेट्नुको अर्थ के

कोरोनाभाइरसको महामारीले गर्दा तत्काल अनुकूल अवस्था नदेखेका विदेश मामिला सल्लाहकार भट्टराईले कुनै पनि तहको राजनीतिक भ्रमणको तयारीबारे जानकारी नभएको बताए।

उनी भन्छन्, “तर पनि वातावरण अनुकूल हुँदै गएपछि स्वाभाविक रूपमा माथिल्लो तहका भ्रमणहरूले समस्या समाधानमा केन्द्रित हुन, नयाँ दिशा दिन सहयोग पुर्‍याउने भएकाले त्यो अघि बढाउनुपर्छ।”

खासगरी ‘रअ’ प्रमुख गोयलको भ्रमणले प्रधानमन्त्रीको पार्टी नेकपाभित्र हलचल निम्त्याइदिएको छ।

कतिपय नेताले त्यो पार्टी नीति र निर्णयविपरीत भएको बताइरहेका छन्।

त्यस्तै कतिपय जानकारहरूले पहिले गुप्तचर र पछि सेना प्रमुखको भ्रमणका कारण गुप्तचरी र सैन्य कूटनीतिले दुई देशको राजनीतिक र कूटनीतिक सम्बन्धलाई किनारा लगाउने आशङ्का व्यक्त गरेको पाइन्छ।

तस्बिरको क्याप्शन,

नरवणे नेपाली सेनाको मानार्थ महारथीको सम्मान ग्रहण गर्न नेपाल आएका हुन्

‘सैन्य कूटनीति’को भूमिका कस्तो?

तर भट्टराई भन्छन्, “प्रधानमन्त्रीको सन्देश बोकेर आएपछि को आयो भन्ने गौण हुन्छ, उहाँले (गोयलले) प्रधानमन्त्रीको सन्देश दिनुभएको हो।”

आफ्ना विश्वासपात्र मानिएका उपप्रधानमन्त्री ईश्वर पोखरेललाई आफ्नो कार्यालयमा तानेर रक्षामन्त्रीको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री ओलीलाई भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेले शुक्रवार भेट्नेछन्।

भारतले नाकाबन्दी गरेका बेला दुई देशबीच उत्पन्न तनाव अन्त्य गर्न पनि ‘सैन्य कूटनीति’ को उपयोग गरिएको दाबी गरिएको थियो। त्यसबेला नेपालमा ओली र भारतमा मोदी प्रधानमन्त्री थिए।

तात्कालिक प्रधानसेनापति राजेन्द्र क्षेत्रीले त्यसबारे भारतीय समकक्षी दलबीर सिंह, गृहमन्त्री र राष्ट्रिय सुरक्षा सल्लाहकारसँग कुराकानी गरेका थिए।

उक्त आन्तरिक गृहकार्यपछि विकसित घटनाक्रममा बन्द सिमानासँगै ओलीको भारत भ्रमणको बाटो पनि खुला भएको थियो।

दलबीर सिंह गोर्खा राइफल्सबाट सेना प्रमुख हुने तेस्रो सैन्य अधिकारी भएको बताइन्छ। उनीपछि सेनापति बनेका विपीन रावत अवकाशपछि भारतको चीफ अफ डिफेन्स स्टाफ बनाइएका छन्। नरवणे उनकै उत्तराधिकारी।

नेपाल-भारत सीमा विवादको पछिल्ला घटनाक्रम

  • विसं २०७६ कार्तिक १६: भारतले जम्मू-कश्मीर र लद्दाखलाई केन्द्र-शासित प्रदेश बनाएपछि जारी नयाँ नक्सामा लिम्पियाधुरा-कालापानी समावेश
  • विसं २०७६ कार्तिक २०: कालापानी क्षेत्र नेपालको भूभाग हो भन्ने विषयमा नेपाल सरकार स्पष्ट रहेको परराष्ट्र मन्त्रालयको विज्ञप्ति
  • विसं २०७६ कार्तिक २१: भारतको विदेश मन्त्रालयले आफ्नो नयाँ नक्सामा नेपालसँगको सीमामा कुनै हेरफेर नगरेको भनाइ
  • विसं २०७६ मङ्सिर ३: भारतको नयाँ नक्साबारे भारत सरकारलाई ‘कूटनीतिक नोट’ पठाउँदै सुगौली सन्धिअनुसार काली (महाकाली नदी) पूर्वको लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भूमि भएको कुरा पुन:स्मरण गराइएको नेपालको परराष्ट्र मन्त्रालयको भनाइ
  • विसं २०७७ वैशाख २६: भारतका रक्षामन्त्री राजनाथ सिंहद्वारा नेपालले दाबी गरेको धार्चुला-लिपुलेक क्षेत्रमा निर्मित तिब्बतमा रहेको कैलाश-मानसरोवर जोड्ने सम्पर्क सडक सञ्जालको भिडिओ कन्फरेन्समार्फत् उद्घाटन
  • विसं २०७७ वैशाख २७: सडक निर्माण गर्ने एकतर्फी गतिविधि प्रधानमन्त्रीका तहमा समेत गरी दुई देशबीच भएका समझदारीविपरीत रहेको नेपालको भनाइ
  • विसं २०७७ वैशाख २७: भारतको विदेश मन्त्रालयले सडक सञ्जाल उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लामा पर्ने भारतीय सीमाभित्रै रहेको प्रतिक्रिया
  • विसं २०७७ जेठ ७: नेपालको मन्त्रिपरिषद्ले पारित गरेको कालापानी, लिम्पियाधुरा र लिपुलेक भएको नेपालको आधिकारिक नक्सा जारी
  • विसं २०७७ जेठ ३१: नेपालले जारी गरेको नयाँ नक्साअनुसार निसान छाप परिमार्जन गर्ने प्रस्ताव गरिएको संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट पारित

Check Also

नेपाल मनसुन: सिन्धुपाल्चोकका बाढीपीडित भन्छन्, ‘सर्वस्व लग्यो, अब सरकारको आस’

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन नेपाल मनसुन: सिन्धुपाल्चोकका बाढीपीडित भन्छन्, ‘सर्वस्व लग्यो, अब सरकारको …

NTA Requests For Continuous Telecom & Internet Services At Flood Areas

Nepal Telecommunication Authority (NTA) has recently notified all stakeholders for continuous telecom and internet services …

Leave a Reply

Your email address will not be published. Required fields are marked *