Breaking News

टिग्रे किन चर्चामा छ? इथियोपियाको द्वन्द्वलाई छोटकरी र विस्तृत रूपमा बुझ्नुहोस्

टिग्रे उत्तरी इथियोपियामा पर्छ

इथियोपिया सरकार र उत्तरी टिग्रे क्षेत्रका फौजबीचको द्वन्द्वले त्यहाँ अशान्ति हुने देखिएको छ।

त्यहाँ दुई सातादेखि लडाइँ जारी छ। सयौँ मानिसहरू मारिएको विवरणहरू आएका छन्।

त्यसले गर्दा पूर्वी अफ्रिकाको घना जनसङ्ख्या भएको उक्त मुलुकलाई अस्थिर बनाएको छ।

सङ्कट निम्त्याउने कैयौँ कारणहरूमध्ये शक्ति सङ्घर्ष, चुनाव र राजनीतिक सुधारलगायत छन्।

यहाँ हामीले एक, तीन र पाँच सय शब्दमा कसरी र किन उक्त द्वन्द्व निम्तियो भन्ने जानकारी दिएका छौँ।

सय शब्दमा इथियोपिया सङ्कटको कथा

अहिलेको द्वन्द्व ४ नोभेम्बरमा सुरु भएको हो।

त्यस दिन इथियोपियाका प्रधानमन्त्री आबी अहमदले टिग्रेका क्षेत्रीय फौझविरुद्ध सैन्य कारबाही गर्न आदेश दिएका थिए।

उनले टिग्रेमा सरकारी सेना रहेको एउटा आधारक्षेत्रमा हमला गरिएको प्रतिउत्तरस्वरूप उक्त निर्णय गरिएको बताएका छन्।

आबीको सरकार र टिग्रेमा प्रभावशाली पार्टीका नेताबीच महिनौँ चलेको खिचातानीले उक्त द्वन्द्वलाई उचाइमा पुर्‍याएको हो।

तस्बिरको क्याप्शन,

प्रधानमन्त्री आबी अहमद

उक्त पार्टी लगभग तीन दशकसम्म शक्तिको केन्द्रमा रहेको थियो।

तर सन् २०१८ मा भएको सरकारविरोधी प्रदर्शनपछि आबीले सत्ता सम्हाले।

त्यो पार्टी किनारामा पुग्यो।

आबीले सुधारलाई अनुसरण गरे तर टिग्रेमा त्यसको विरोध भयो। त्यसका कारण त्यहाँ राजनीतिक सङ्कट उत्पन्न भयो।

तीन सय शब्दमा इथियोपिया सङ्कटको कथा

यो सङ्कटको जरो इथियोपियाको शासन प्रणालीमा रहेको छ।

सन् १९९४ देखि इथियोपियामा सङ्घीय प्रणाली छ।

त्यहाँका १० वटा क्षेत्रमा फरकफरक जातीय समूहरूको नियन्त्रणमा शक्ति रहेको छ।

तपाईँलाई टिग्रेको शक्तिशाली पार्टी सम्झना छ?

त्यो पार्टी टिग्रे पिपल्स लिबरेसन फ्रन्ट टीपीएलएफ हो।

उसको यो सङ्घीय प्रणालीमा निकै प्रभावशाली भूमिका छ।

सन् १९९१ देखि चारवटा पार्टीका नेताहरूको गठबन्धनले त्यहाँ शासन गर्थ्यो। जसले एउटा सैन्य सत्तालाई अन्त्य गरिदिएको थियो।

उक्त गठबन्धनअन्तर्गत इथियोपिया निकै समृद्ध र स्थिर बन्यो।

तर त्यहाँ निरन्तर मानवअधिकार र प्रजातन्त्रको तहबारे प्रश्न उठ्ने गर्थ्यो।

अन्तत: असन्तोष विरोध प्रदर्शनका रूपमा व्यक्त भयो।

त्यसले सरकार फेरिदियो र आबी नयाँ प्रधानमन्त्री बने।

आबीले राजनीतिलाई उदार बनाए।

द प्रोस्पर्‍योटी पार्टी नामक नयाँ पार्टी स्थापना गरे।

उनले ट्रिग्रियन सरकारका भ्रष्टाचार र दमनका आरोपित मुख्य नेताहरूलाई सरकारबाट हटाइदिए।

आबीले लामो समयदेखि छिमेकी इरिट्रियासँग जारी भौगोलिक र सीमा विवादलाई समाप्त पारिदिए।

त्यसबापत उनले सन् २०१९ मा नोबल शान्ति पुरस्कार पनि पाए।

यी कदमले आबीले आम रूपमा त प्रशंसा पाए तर टिग्रेका आलोचकलाई बेचैन बनायो।

टिग्रेका नेताहरूले आबीको सुधारलाई शक्ति केन्द्रिकृत गर्ने र इथियोपियाको सङ्घीय प्रणालीलाई नष्ट गर्ने प्रयासका रूपमा लिए।

टिग्रेको सरकारले केन्द्र सरकारको निर्णय विपरित आफ्नो क्षेत्रीय चुनाव गरेपछि यो झगडा सेप्टेम्बरमा थप बढ्यो।

केन्द्र सरकारले कोरोनाभाइरसका कारण रष्ट्रिय चुनाव स्थगित गरिदिएको थियो। ट्रिग्रेको चुनावलाई उसले अवैध भन्यो।

त्यसपछि अक्टोबरमा केन्द्र सरकारले टिग्रेलाई दिने बजेट बन्द गर्दै उसँगको सम्बन्ध तोड्यो। त्यसले तनाव अझै बढायो।

त्यसलाई टिग्रे प्रशासनले युद्धको घोषणाजस्तो भन्यो।

तनाव झन् बढ्दै गयो। त्यसलाई इन्टरन्याशनल क्राइसिस ग्रुपले “अचानक र अनुमानिन” द्वन्द्व भनेको छ।

आबीले टिग्रेले “रातो रेखा” पार गरेको बताएका छन्।

उनले ट्रिग्रियन फौजले हतियार लुट्न एउटा सेनाको आधारक्षेत्रमा हमला गरेको आरोप लगाएका छन्।

उनले त्यसले सङ्घीय सरकारलाई सैन्य विवादमा पर्न बाध्य पारेको बताएका छन्।

पाँच सय शब्दमा इथियोपिया सङ्कटको कथा

आबी शक्तिमा आएपछि अफ्रिकाको सबैभन्दा पुरानो स्वतन्त्र देश इथियोपियामा तीव्र परिवर्तनहरू भइरहेका छन्।

आबी इथियोपियाको सबैभन्दा ठूलो जातीय समूह ओरोमोबाट प्रतिनिधित्व गर्छन्।

उनले प्रधानमन्त्री बनेर दिएको पहिलो मन्तव्यमा राजनीतिक सुधार, एकता र मेलमिलापको आह्वान गरेका थिए।

उनका मुद्दाहरू प्रदर्शनकारीहरूका मागबाट प्रेरित थिए।

ती प्रदर्शनकारीहरूले इथियोपियाका राजनीतिक सम्भ्रान्तहरूले देशलाई प्रजातन्त्रतर्फको सङ्क्रमणमा अल्झाएर राखेका थिए भन्ठान्थे।

त्यहाँ २७ वर्षदेखि शासन गरिरहेको एउटा गठबन्धनलाई त्यसको बाधक ठानिन्थ्यो।

उक्त गठबन्धनको नेतृत्व टिग्रियन नेताहरूले गरेका थिए।

सन् १९७० र १९८० को दशकमा टीपीएलफले त्यहाँको सैन्य सरकारमा नियन्त्रण पाउनका लागि युद्ध लडेको थियो।

उक्त पार्टी सफल भयो र सन् १९९१ मा एउटा गठबन्धन सरकारको नेतृत्वकर्ता भयो।

उक्त गठबन्धनले इथियोपियाका विभिन्न क्षेत्रलाई स्वायत्तता दियो तर केन्द्र सरकारसँग कडा नियन्त्रण थियो।

आलोचकहरू त्यसलाई विपक्षीहरूभाथि दमन गर्नका लागि गरिएको नियन्त्रणका रूपमा हेर्छन्।

अहिले स्वयम् उक्त पार्टी प्रतिपक्षी बन्यो।

सन् २०१९ मा यो पार्टीले आबीको सरकारमा सामेल हुन र उनको पार्टीमा विलय हुन अस्वीकार गरिदियो।

त्यसले तनाव थप बढायो।

उदाहरणका लागि सेप्टेम्बरमा टिग्रेले आफ्नो चुनाव गराउने निर्णय गर्नु केन्द्र सरकारविरुद्ध एउटा अस्वभाविक कदम थियो।

त्यस बेलादेखि दुवै सरकारले एक अर्कालाई अवैधानिक भन्दै आएका छन्।

टिग्रेले के भनिरहेको छ भने आबीले सत्ता सम्हालेदेखि केन्द्र सरकारलाई जनताले चुनावी आधारमा परीक्षण गर्न पाएका छैनन्।

टिग्रेले आबीले इरिट्रियाका राष्ट्रपति इसाइस अफ्वेर्कीसँगको “अप्रत्याशित” मित्रताका लागि पदबाट हट्नुपर्ने आह्वान पनि गरेको छ।

सीमा जोडिएका यी दुई मुलुकबीच लामो समयदेखि दुस्मनी रहँदै आएको थियो। मुख्यत: यस्तो दुस्मनी टिग्रे र इरिट्रिया सरकारबीच रहेको थियो।

भौगोलिक र सीमा विवादका कारण इथियोपिया र इरिट्रियाले सन् १९९८ देखि २००० सम्म युद्ध गरेका थिए।

तपाईँलाई थाहा होला सन् २०१८ मा उक्त विवाद निकै चर्चामा थियो।

त्यसवर्ष आबीले भौगोलिक विवाद समाप्त गर्दै इरिट्रिया सरकारसँग शान्ति सन्धिमा हस्ताक्षर गरेका थिए।

एक वर्षपछि आबीले नोबल शान्ति पुरस्कार पनि पाए।

तर अहिले शान्ति होइन, युद्ध चर्किएको छ, त्यसैले इथियोपियाप्रति चासो बढेको छ।

आबीले टिग्रेमा सैन्य कारबाही गर्न निर्देशन दिएपछि नोभेम्बर ४ यता त्यहाँबाट हजारौँ नागरिकहरू विस्थापित भएका छन्।

सयौँ अरू मारिएको र त्यहाँ आम नरसंहार भएको विवरणहरू आएका छन्।

टिग्रेमा सञ्चार सम्पर्क बन्द गरिएकाले कति मानिसहरू मारिए भन्ने यकिन विवरण थाहा छैन।

सरकारले त्यहाँ छ महिने राष्ट्रिय सङ्कटकाल लगाएको छ। एउटा पूर्णरूपको गृहयुद्ध लामो समयसम्म चल्नसक्छ।

इन्टरन्याशनल क्राइसिस ग्रुपका अनुसार टिग्रेको फौजको सङ्ख्या हेर्दा यस्तो युद्ध लामै समय बढ्नसक्ने देखिन्छ।

टिग्रेमा अर्धसैनिक बल र स्थानीय मिलिसिया गरेर दुई लाख ५० हजारको फौज रहेको उसको भनाइ छ।

इथियोपिया अफ्रिकाको दोस्रो धेरै जनसङ्ख्या भएको देश हो।

यो हर्न अफ अफ्रिका भन्ने क्षेत्रमा पर्छ। त्यसैले यसलाई महत्त्वपूर्ण देश मानिछ।

यदि द्वन्द्व चर्कियो भने त्यो अफ्रिकाका अन्य छिमेकी देशरहरूसम्म फैलने खतरा रहेको बताइन्छ।

यो द्वन्द्वले इथियोपियाका कुनै पनि क्षेत्रमा जातीय हिंसा उत्पन्न हुनसक्ने चिन्ता पनि बढेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *