Breaking News

कोरोना भाइरस र वातावरण: जलवायु सम्बन्धी एक ‘बृहत् प्रयोग’

  • इमिली कासरियल
  • बीबीसी फ्युचर

“कतै ज्यादा हुन्छ कि भनेर म निकै चिन्तित हुने गर्थेँ,” मेल्बोर्नकी लर्ड मेयर स्याली क्यापले महामारीभन्दा अघिको समयमा जलवायुसम्बन्धी आफ्नो नेतृत्वबारे यसो भन्छिन्।

अस्ट्रेलियाको दोस्रो सबभन्दा धेरै जनसङ्ख्या भएको शहरकी नेताले कोभिड-१९ ले कसरी उनलाई व्यक्तिगत रूपमा अनि मेयरको रूपमा आफ्ना महत्त्वपूर्ण जिम्मेवारीबारे स्पष्ट हुन सघायो भनेर बताएकी छन।

“म आफ्ना मूल्यमान्यताप्रति थप प्रतिबद्ध भएकी छु, मानवताको प्राथमिकता अनि वातावरण संरक्षणबारे थप सचेत भएकी छु ताकि तिनले मेरा एजेन्डालाई निर्देशित गर्न सकून्।”

महामारीले सन् १९३० ताकाको ग्रेट डिप्रेसन यताको सबभन्दा गम्भीर आर्थिक सङ्कट अनि इतिहासकै एक गम्भीर जनस्वास्थ्य सङ्कट निम्त्याएको छ।

यसले उब्जाएका अस्तित्वसम्बन्धी जोखिमले कैयन् व्यक्ति, शहर तथा राष्ट्रिय नेताहरूलाई नयाँ मार्गमा पुर्‍याइदिएको छ।

महत्त्वपूर्ण के हो भन्ने निर्क्योल

क्यापको सन्दर्भमा यसको मतलब वातावरण सम्बन्धी निर्णयमा आएको बदलाव हुनेछ। उनी चाहन्छिन् यो प्रवृत्ति कोभिड-१९ पछिको दुनियाँमा पनि जारी रहोस्।

वास्तवमा महामारीपश्चात् सुधार गर्न खासगरी जलवायु सङ्कटको सन्दर्भमा बदलाव ल्याउन ठूलै आन्दोलन भइरहेको छ। भावनाहरू बदलिरहेका छन्।

तर व्यक्तिगत रूपमा जतिसुकै असल नियत भएपनि खास परिवर्तन गर्न उद्योग अनि राष्ट्रिय तथा स्थानीय सरकारहरूमा त्यो देखिनुपर्छ।

के महामारीले हामीलाई जलवायु सङ्कटसँग जुध्न आवश्यक परिवर्तन गराउन सघाएको छ?

लकडाउनका बेला विश्वभरि कैयन् मानिसले एकदमै भिन्न-भिन्न अनुभव गरे।

स्वस्थ्य रहने चाहनाले व्यवहारमा नाटकीय परिवर्तन ल्याइदियो जसलाई कतिपय प्राज्ञहरूले वृहत् प्रयोगसँग तुलना गरेका छन्।

कतिपय यस्ता परिवर्तनको दिगो आयाम पनि छ – जस्तो कि लामो दूरीका यात्रामा भएका कटौती।

यात्रामा भएका कटौतीले कार्बन उत्सर्जनमा हालसम्म रेकर्ड गरिएको सबभन्दा ठूलो कमी देखियो।

तस्बिरको क्याप्शन,

लकडाउनका बेला उत्पन्न व्यवहारगत परिवर्तन लकडाउनपछि पनि जारी नरहला – तर के तिनले हाम्रो दृष्टिकोण बदलिदिन्छ?

हाम्रो वरपरको संसार बदलिँदै गर्दा त्यसले वातावरणप्रति हाम्रो धारणा र व्यवहार कसरी बदलिदिएको छ?

सेन्ट पल तथा मिनियापोलिसको सेन्ट टोमस विश्वविद्यालयकी मनोविज्ञान प्राध्यापक इलिस एमेल भन्छिन् जब मानिसहरूले उनीहरूको कामले उब्जाउने प्रभाव प्रत्यक्ष देख्छन्, उनीहरूले भिन्न व्यवहार गर्छन्।

“जब तपाइँ घरमा समय बिताउनुहुन्छ, चाहे घरबाट काम गर्नु परेका कारण होस् वा रोजगारी गुमाएको कारण होस्, तपाइँले पहिलोपटक कति ऊर्जा खर्च भइरहेको अनि कति खाना खेर फालिरहेको भन्ने बारे सोच्नुहुन्छ। त्यसले तपाइँलाई एकछिन रोकिएर सोच्न अनि व्यवहार परिवर्तन गर्न घच्घच्याउँछ,” एमेलले भनिन्।

यदि हामीले हिँड्न तथा साइकल चलाउन जारी राख्यौँ भने त्यसले वातावरणलाई राम्रै असर परिरहनेछ।

उदाहरणका लागि प्लास्टिकको पुन: प्रयोग गर्न थालेमा हामी पृथ्वी जोगाउन सचेत छौँ भन्ने पहिचान स्थापित हुन्छ र त्यसपछि हामी थोरै मासु खान रुचाउनेछौँ।

तर युनिभर्सिटी कलेज लण्डनका अनुसन्धानकर्ता जो हेलको भनाइमा यदि हामीले वातावरणलाई राम्रो हुने एकथरी काम गर्‍यौँ भने अर्कोथरी नराम्रो हुने काम गर्न अनुमति मिलेको पनि ठान्न सक्छौँ।

एउटा राम्रो काम गरेपछि आफ्नो भूमिका सकिएको ठान्ने खतरा हुनसक्छ।

लकडाउनले कसरी हामीलाई र विश्वलाई परिवर्तन गर्‍यो

तस्बिरको क्याप्शन,

प्रकृतिमा रमाउने अनुभूतिले वातावरणप्रति हाम्रो व्यवहारलाई प्रभाव पार्छ

लकडाउनमा घरभित्र वा स्थानीय क्षेत्रमा खुम्चनु पर्दाको एउटा परिणाम के रह्यो भने धेरै मानिसले प्रकृतिसँग रमाउने मौका पाए।

गुगल ट्रेन्ड्सका अनुसार विश्वभरि लकडाउनका बेला अनलाइनमा मानिसहरूले “चराका आवाज”, “बोटबिरूवाको पहिचान”, तथा “बिरूवा रोप्ने” जस्ता विषयमा गत वर्षको यही अवधिमा भन्दा दोबरको परिमाणमा खोजी गरे।

अनुसन्धानहरूका अनुसार प्रकृतिमा डुब्दा त्यसले वातावरणप्रति हाम्रो व्यवहारमा प्रभाव पर्छ।

एक्सेटर विश्वविद्यालयका वातावरण मनोवैज्ञानिक म्याथ्यु ह्वाइटले कोभिड-१९ भन्दा अगावै एक विशाल प्रयोग गरेका थिए जसमा प्रकृतिसँगको लगाव र त्यसले व्यक्तिको वातावरणप्रति व्यवहारमा सोझो सम्बन्ध भेटिएको थियो।

यो नयाँ दृष्टिकोणले हामीलाई अरूप्रति तथा हाम्रो पृथ्वी ग्रहप्रति थप कल्याणकारी हुन प्रोत्साहन गर्छ।

तर जब हामी बिदामा घुम्न जान्छौँ त्यतिखेर यो सम्बन्धले काम गर्दैन।

महामारी अगाडि गरिएका अनुसन्धानमा प्रकृतिमा समय बिताउनुसँग हामीले बाहिर घुम्न जाँदा प्लेन चढ्ने निर्णय गर्नुसँग सम्बन्ध नभएको पाइयो।

नयाँ दिल्लीदेखि लस एन्जलससम्म हामीमध्ये कैयौँले यात्रामा बन्देज लगाएका कारण उत्सर्जन कम हुँदा सफा आकाश र स्वच्छ हावापानीको अनुभव गर्‍यौँ। तर लागेको बानी सजिलै छुट्दैन।

“जब स्वाभाविक जीवनशैली फर्कन्छ मानिसहरू पुरानै बानीमा फर्कन्छन्। जस्तो कि गाडी चलाइहाल्ने,” साउदर्न क्यालिफोर्निया विश्वविद्यालकी बानीबेहोरासम्बन्धी प्रख्यात प्राध्यापक वेन्डी वुडले भनिन्।

परिवर्तनको विन्दु

तस्बिरको क्याप्शन,

वातावरणसम्बन्धी नीति सुरुमा लोकप्रिय नभए पनि तिनको प्रभाव देखिएपछि मानिसहरूले समर्थन गर्छन्

तर वुडको विश्वास छ महामारीले ल्याइदिएको उथलपुथलले दिगो जीवनशैलीतर्फ लाग्न मानिसहरूलाई प्रेरित गरेको छ। तर नेतृत्वले निर्णायक कदम लिएमात्र त्यो सार्थक हुन्छ।

वुड लस एन्जलस शहरको मेट्रोको परामर्श समितिमा छिन् र उनीहरूले मानिसहरूलाई निजी गाडीको साटो सार्वजनिक यातायात प्रयोग गराउन प्रेरित गर्न ध्यान दिन्छन्।

तर अहिलेको अवस्थामा धेरै मानिस चढ्ने सार्वजनिक यातायात पनि स्वस्थ्य विकल्प होइन। त्यसैले त्यसको पनि दिगो विकल्पको खोजी भइरहेको छ।

“मेरो अपिल यातायात निकायहरूसमक्ष के छ भने विस्तारै शहरहरू खुल्दै गर्दा साइकल, स्कुटर तथा पैदल यात्रीलाई सहज बनाइदिनुपर्छ।”

अनुसन्धानले के पनि देखाएको छ भने राजनीतिज्ञहरू जीवनशैलीमा परिवर्तन गराउने निर्णय लिन हिच्किचाउँछन् तर सुरुमा त्यस्ता वातावरणसम्बन्धी नीति लोकप्रिय नभएपनि विस्तारै मानिसहरूले साथ दिन्छन्।

उदाहरणका लागि प्लास्टिकका झोला प्रयोगमा शुल्क लिनु होस् वा गाडी पार्किङमा थप शुल्क लिनु होस् त्यसको फाइदा आफ्नो शहर र वातावरणमा पुगेको मानिसहरूले देख्न थालेपछि त्यस्ता नीतिमा जनसमर्थन बढ्दै जान्छ।

हरित सुधार

निश्चय पनि लकडाउनका बेला लागु भएका सकारात्मक परिवर्तनबारे केवल सरकारहरूले मात्र प्रोत्साहन गर्नुपर्छ भन्ने होइन।

व्यापार व्यवसायहरूले पनि दिगो नीति लागु गर्न भूमिका खेल्न सक्छन्।

ट्विटरले आफ्ना कर्मचारीले सधैँका लागि घरबाटै काम गर्न पनि अनुमति दिएको छ।

सरकार र व्यवसायहरूको कार्यमा पनि निकट सम्बन्ध हुन्छ।

यूकेका कतिपय ठूला व्यवसायहरूले सरकारलाई पत्र लेख्दै अबको सुधार ‘हरित सुधार’ हुनुपर्ने बताएका छन्।

तर के राजनीतिक नेताहरू पृथ्वीलाई जोगाउन तथा मानवसिर्जित जलवायु परिवर्तनलाई सम्बोधन गर्न आवश्यक कदम चाल्न तयार छन्?

यो चुनौती किनपनि निकै सान्दर्भिक छ भने अधिकांश नेताहरू अहिले जटिल आर्थिक अवस्थाको सामना गर्दैछन् जहाँ उनीहरूले हालसम्मकै व्यापक बेरोजगारीको समस्या झेल्नुपरिरहेको छ।

त्यसमाथि सार्वजनिक यातायात असुरक्षित ठान्दै धेरै मानिसहरू पुन: निजी गाडीको प्रयोगमा फर्किएका छन्।

कसले गर्ने परिवर्तन?

तस्बिरको क्याप्शन,

मेलबोर्नकी मेयर स्याली क्याप जलवायुसम्बन्धी कदम चाल्न प्रतिबद्ध छिन्

शायद यो परिवर्तन देशहरूले होइन, शहरहरूले गर्नेछन्।

मार्क वाट्स जलवायु परिवर्तनको सम्बोधनमा लागिपरेको सी फोर्टी नामक विश्वका महानगरहरूको सञ्जालका प्रमुख हुन्।

कोभिड-१९ यता उनले नियमित रूपमा ठूला नगरका मेयरहरूसँग महामारी तथा हरित सुधारसम्बन्धी बैठक गरेका छन्।

उनी भन्छन् भर्चुअल रूपमा आयोजित यी बैठकमा सम्भावनाबारे निकै चर्चा भएका छन्।

“मेयरहरूले यसलाई ठूलै परिवर्तनको बाहकको रूपमा लिएका छन्। महामारीले उनीहरूलाई एकदमै दबावपूर्ण अवस्थामा पुर्‍याएको छ किनभने उनीहरूको शहरहरूमा लाखौँ मानिसहरूको ज्यान गएको छ।”

“तर सरकारप्रति बढ्दो जनआस्थाका माझ उनीहरू ठान्छन् वातावरण जोगाउन आवश्यक महत्त्वपूर्ण कदम चाल्ने सही मौका यही हो।”

दुई वर्ष अगाडि पद सम्हाले यता मेलबोर्नकी मेयर क्यापले जलवायुसम्बन्धी प्रतिबद्धता दर्शाउँदै आएकी छन्। सन् २०१९ मा उनले जलवायु तथा जैविक विविधताको आपत्‌काल घोषणा गरिन्।

तर कोभिड-१९ ले उनलाई वातावरणीय सुधारका कदम तीव्र गतिमा लिन अनुमति दिएको छ।

“अब हामी साइकल मार्ग एक वर्षमै बनाउने योजना गर्दैछौँ। यसअघि हामीले त्यो काम एक दशक लगाएर गर्ने योजना गरेका थियौँ,” उनले भनिन्।

सो शहरले आगामी छ महिनाभित्र डेढ लाख रुख रोप्ने अनि झाडी तथा घाँस उमार्ने योजना गरेको छ।

थप अनुसन्धान केट प्रोभोर्नायाबाट

यो सामग्री तयार पार्न आवश्यक यात्रामा शून्य किलोग्राम कार्बनडाइअक्साइड खर्च भएको छ किनभने सबै अन्तर्वार्ता भर्चुअल रूपमा गरिएका छन्। यो सामग्रीको डिजिटल उत्सर्जन १२ ग्रामदेखि ३६ ग्राम प्रति पेजभ्यू हुने अनुमान छ। यसको हिसाब हामीले यसरी गर्‍यौँ।

Check Also

NTA Requests For Continuous Telecom & Internet Services At Flood Areas

Nepal Telecommunication Authority (NTA) has recently notified all stakeholders for continuous telecom and internet services …

World Bank extends monetary support to Nepal’s pandemic fight

The international bank will be lending USD 150 million to the Asian country   The …

Leave a Reply

Your email address will not be published. Required fields are marked *