परीक्षण

विगत २४ घण्टामा नेपालमा कोरोनाभाइरसका कारण थप तीन जनाको मृत्यु भएको र ८१८ जना सङ्क्रमित भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

यो वृद्धिसँगै कोभिड-१९ बाट मृत्यु हुनेको सङ्ख्या १४९ पुगेको छ भने सङ्क्रमित व्यक्तिहरूको कुल सङ्ख्या ३१,९३५ पुगेको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिले १३,१५५ जनामा सक्रिय सङ्क्रमण छ।

तीमध्ये ९,२१२ जना संस्थागत आइसोलेशनमा र ३,९४३ जना घरमै आइसोलेशनमा छन्। गम्भीर लक्षण भएका १३७ जना आईसीयूमा र १० जना भेन्टिलेटरमा भएको मन्त्रालयले जनाएको छ।

अहिलेसम्म १८,६३१ जना भाइरसमुक्त भइसकेको मन्त्रालयको तथ्याङ्कले देखाउँछ। यो पुष्टि भएका कुल सङ्क्रमितको ५७.५ प्रतिशत हो।

नेपालमा अहिले सबैभन्दा बढी सक्रिय सङ्क्रमित प्रदेश नं २ र वाग्मती प्रदेशमा छन्।

अहिले पुष्टि भएका सङ्क्रमितमध्ये १६६ जना काठमाण्डू उपत्यकाका, १३९ जना पर्साका र ९१ जना सर्लाहीका छन्।

त्यसैगरी सरकारले भदौ ५ गते ८३८ जनामा सङ्क्रमण भएको र ११ जनाको मृत्यु भएको पुष्टि गरेको थियो।

यसअघि असार ४ गते ६७१, असार १० गते ६२९, असार १९ गते ७४०, साउन २७ गते ६३८ र साउन ३२ गते ६४१ जनामा सङ्क्रमण पुष्टि भएको थियो।

को हुन् मृतक?

अहिले कोभिड-१९ का कारण मृत्यु पुष्टि भएका व्यक्तिहरू विभिन्न जिल्लाका हुन्।

तीमध्ये पर्सा र सर्लाहीका दुई जना महिला र झापाका एक जना पुरुष हुन्।

उनीहरू क्रमशः ५३, ३३ र ५८ वर्षका भएको मन्त्रालयले जनाएको छ।

अहिलेसम्मको तथ्याङ्कअनुसार नेपालमा ०.४७ प्रतिशत सङ्क्रमितको मृत्यु भएको देखिन्छ।

नेपालमा सक्रिय सङ्क्रमितहरू अहिले कहाँ छन्?. आइतवार अपराह्णसम्मको विवरण.  .

के छ अरू तथ्याङ्क?

विगत २४ घण्टामा ८,००० भन्दा बढी नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।

तर चारवटा अस्पतालले सङ्क्रमण देखिएका परीक्षणको मात्र उल्लेख गरेर विवरण उपलब्ध गराएकाले कुल सङ्ख्या स्पष्ट हुन नसकेको डा. गौतमले बताए।

सो अवधिमा २८१ जना भाइरसमुक्त प्रमाणित भएको मन्त्रालयले उल्लेख गरेको छ।

अहिले देशभरि क्वारन्टीनमा ११,७१४ जना छन्। तीमध्ये सुदूरपश्चिम प्रदेशमा सर्वाधिक ३,२०६ र गण्डकी प्रदेशमा २,५५७ जना छन्।

मन्त्रालयका अनुसार मोरङ, पर्सा, महोत्तरी, रौतहट, सर्लाही र काठमाण्डूमा सक्रिय सङ्क्रमितको सङ्ख्या ५०० भन्दा बढी छ।

मुस्ताङ, म्याग्दी र हुम्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या शून्यमा झरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *