Breaking News

कोरोना भाइरस खोप: ‘नेपालमा रुसको खोप भित्र्याउने प्रयासलाई काठमाण्डूस्थित रुसी दूतावासको समर्थन’

खोप

रुसमा निर्मित कोरोनाभाइरस विरूद्धको खोप ठूलो परिमाणमा नेपालमा भित्र्याउन गरिएको सम्झौतामा नेपालस्थित रुसी राजदूतावासको समर्थन रहेको उक्त सहमतिको मस्कोस्थित पक्षले बताएको छ।

रुसको सार्वभौम सम्पत्ति कोष अन्तर्गतको रुसी प्रत्यक्ष लगानी कोष आरडीआईफका प्रवक्ताले बीबीसीलाई यो जानकारी दिएका हुन्।

यसै साता मस्कोमा सार्वजनिक गरिएको प्रेस विज्ञप्तिमा आरडीआईएफले नेपालको एउटा निजी कम्पनी ट्रिनिटी फर्मास्युटिकल्ससँग अढाइ करोड रुसी खोप आपूर्ति गर्ने सहमति गरेको उल्लेख गरिएको थियो।

त्यसबारे आफूहरू बेखबर रहेको नेपाली अधिकारीहरूले प्रतिक्रिया दिएपछि विगतमा खासै नाम नसुनिएको स्वास्थ्य सामग्री सम्बन्धी थोक विक्रेताले रुसको निकायसँग भएको सहमतिबारे बिहीवार सरकारलाई जानकारी गराएको छ।

त्यसबारे शुक्रवार नेपाल सरकारले हालसम्म संसारमा कतैपनि प्रभावकारी खोप पत्ता लागि सकेको स्थिति नभएको भन्दै खोप पत्ता लागेपछि आफैँले नेपाली जनताका निम्ति ल्याउने स्पष्ट पारेको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाभाइरस सङ्क्रमण सम्बन्धी नियमित प्रेस ब्रिफिङमा भने, “खोप बनिसकेपछि नेपाल सरकारले आफ्नै पहलकदमीमा नेपालमा खोप उपलब्ध गराउँछ। कुनै निजी कम्पनीले बाहिर सम्झौता गरेको भन्ने हल्लाहरू पनि आएका छन्। यी हल्लाहरूको पछि नपर्न सम्पूर्ण सम्बन्धितलाई म अनुरोध गर्दछु।”

स्पुत्निक नामक उक्त रुसी खोपको परीक्षण नेपालमा गराउनेबारे विगतमा उच्च सरकारी अधिकारीहरूलाई रुसी राजदूतले भेटेर कुराकानी गरेका विवरण आएका थिए।

तर पछिल्लो सम्झौताबारे राजदूतावासको औपचारिक धारणा लिने बीबीसीको प्रयासमा कुनै जवाफ आएको छैन।

नेपाललाई खोप आपूर्ति गर्ने भनिएको निकायको भनाइ के छ?

बीबीसी नेपालीलाई दिएको प्रतिक्रियामा आरडीआईएफले रूसको काठमाण्डूस्थित राजदूतावासले यो सम्झौता कार्यान्वयनका लागि सहयोग गर्ने उल्लेख गरेको छ।

आरडीआईएफका प्रवक्ता आर्सेनी पालागीनले भनेका छन्, “यो सम्झौतालाई नेपालस्थित रुसी राजदूतावासको समर्थन प्राप्त रहेको छ। राजदूतावासले तथ्याङ्क उपलब्ध गराउन र अधिकारीहरूसँग संवाद गर्न मद्दत गर्नेछ।”

रुसले आन्तरिक रूपमा प्रयोगका लागि स्वीकृत गरेको भनिएको उक्त खोप हाल उच्च जोखिममा रहेका स्वास्थ्यकर्मी सहितलाई उपलब्ध भइसकेको आरडीआईएफले जनाएको छ।

उक्त निकायले यसै साता हाल ४० हजार जनामा खोपको परीक्षण भइरहेको र त्यसको परिणाम अक्टोबर वा नोभेम्बर महिनाभित्रै आउने उल्लेख गरेको थियो।

आरडीआईएफको गठन रुसी राष्ट्रपति र प्रधानमन्त्रीको नेतृत्वमा सन् २०११ मा भएको थियो र उसले विश्वका अग्रणी लगानीकर्तासँग आफूले काम गर्ने बताउने गरेको छ।

हालसम्म २८ खर्ब रुपियाँ भन्दा बढी लगानी गरिसकेको र रुसको अर्थतन्त्रमा विदेशी लगानी भित्र्याएको ४० अर्ब डलर पालागीनले उल्लेख गरे।

उक्त कम्पनीसँग सम्झौता गरेको सीतापाइलास्थित ट्रिनिटी फर्मास्युटिकल्सका निर्देशक किशोर अधिकारीले आफूहरूले काठमाण्डूस्थित रुसी दूतावासको समन्वयमा सम्झौता गरेको भएपनि सरकारबाट अनुमति लिएर मात्र काम गर्ने जनाएका छन्।

उनले उक्त खोपले अन्तर्राष्ट्रिय स्तरमा प्रयोगका लागि अनुमति पाएपछि मात्रै भित्र्याउने गरी आफूहरूले सम्झौता गरेको भन्दै हालसम्म खोपको लगत जस्ता विषयमा छलफल नै नभएको टिप्पणी गरेका थिए।

नेपाली थोक बिक्रेता को हो

अधिकारीहरूले ट्रिनिटी फर्मास्युटीकल खासै नाम नचलेको तर विगत केही वर्ष देखि औषधि व्यवस्था विभागमा औषधिको थोक विक्रेताका रूपमा सूचिकृत रहेको जनाएका छन्।

विभागका महानिर्देशक नारायणप्रसाद ढकाल भन्छन् “त्यो फर्मास्युटिकल यहाँ थोक बिक्रेताको रुपमा सूचिकृत छ। स्पुत्निक खोपको कम्पनीबारे भने हाम्रोमा अभिलेख छैन्।

स्पुत्निक खोपको तेश्रो चरणको परीक्षण चलिरहेको छ भनेर बिहिवार हामीलाई निवेदन मार्फत् जानकारी गराइएको छ। यदि यहाँको प्रक्रिया अनुसार भयो भने हामी अनुमति लिन आउँछौँ भनेर ट्रिनिटीले जानकारी दिएको छ।”

उनका अनुसार थोक विक्रेतालाई विदेशी कम्पनीले आफ्नो आधिकारिक विक्रेता तोक्न सक्छ र हालसम्म उक्त फर्मले हालसम्म एउटा चिनियाँ कम्पनीबाट मात्रै आधिकारीक बिक्रेताको मान्यता पाएको देखिन्छ।

“यसले धेरै व्यापार गरेको वा धेरै किसिमका स्वास्थ्य सामग्री ल्याएको पाइँदैन।”

उक्त संस्था करिब पाँच वर्ष अघि स्थापना भएको पाइएको उल्लेख गर्दै महानिर्देशक ढकालले अहिलेको अवस्थामा खोप ल्याउने मापदण्ड उसले पूरा गरेको जस्तो आफूलाई नलागेको बताए।

“खोप ल्याउनु अरू औषधि ल्याउनु भन्दा फरक हो। वातानुकुलित भण्डारण कक्षदेखि धेरै किसिमका सुविधाहरू चाहिन्छन्। अरू साधारण खालका आपूर्तिकर्ता भन्दा विशेष किसिमका संरचना व्यवस्था गर्नुपर्छ।”

खोपको दौडधूप

सङ्क्रामक रोग सम्बन्धी अनुसन्धानकर्ता एवम् पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक डाक्टर बुद्ध बस्न्यात कोरोनाभाइरसको महमारी विश्वभर स्वास्थ्य बाहेक आर्थिक, समाजिक र राजनीतिक सवाल बनिसकेको बताउँछन्।

वैज्ञानिक समुदायले राम्रो परीक्षणपछि खोप प्रयोग गर्नुपर्ने भनेपनि चीनले आफ्ना नागरिकलाई खोप वितरण गर्न सुरु गरिसकेको, अमेरिकी राष्ट्रपतिले खोप उपलब्ध हुने समय किटेको र मस्कोले पनि खोपको प्रयोग सुरु गरेको उनले उल्लेख गरे।

रुसी खोपहरु ल्याउने कुराले आफूलाई अच्चम्मा पारेको उल्लेख गर्दै डाक्टर बस्नेत भन्छन्, “खोप ल्याउने विषय सरकारको जिम्मेवारी हो। नत्रभने सबैले यो ल्याउने त्यो ल्याउने भन्ला। सरकारले नागरिकलाई सुरक्षित तुल्याउने गरी खोपबारे आश्वस्त गर्नुपर्छ।”

सेप्टेम्बरको पहिलो महिनामा संयुक्त राष्ट्रसङ्घको बालबालिका सम्बन्धी निकाय युनिसेफले नेपाल सहित निम्न तथा निम्नमध्यम आय भएका देशहरूमा कोभिड-१९ विरूद्धको खोप खरिद गरी आपूर्ति गर्न सहयोग दिने बताएको थियो।

उक्त अभियान अन्तर्गत विभिन्न देशमा सन् २०२१ को अन्त्यसम्म खोपका दुई अर्ब डोज उपलब्ध गराउने लक्ष्य राखिएको छ।

डाक्टर बस्न्यात पनि कुनै एउटा देशसँग निजी स्तरबाट खोप भित्र्याउने अभियानमा लाग्नुभन्दा नेपालले कोभिड-१९ को उपचार, औषधि र खोपका बारेमा भइरहेका विभिन्न अन्तर्राष्ट्रिय सहकार्यहरूमा जोडिनु देशको हितमा रहेको बताए।

विभिन्न परोपकारी संस्था, खोपबारेको विश्वव्यापी गठबन्धन गाभी र विश्वस्वास्थ्य सङ्गठन डब्लुएचओले कोभिड-१९ विरूद्धको खोप उपलब्ध भएपछि त्यसलाई मानिसहरूको पहुँचमा पुर्‌याउन अघि बढाएको कोभ्यास भन्ने अभियानमा नेपाल जोडिनुपर्ने उनको सुझाव छ।

डब्लुएचओले कोरोनाभाइरस विरूद्धको खोप आउन सन् २०२१ को मध्यसम्म लाग्ने बताउने गरेको छ।

हाल कोरोनाभाइरस विरुद्धका ११ वटा खोपहरूको तेश्रो चरणको परीक्षण भइरहेको छ।

केही दिन पहिले राष्ट्रसङ्घको महासभामा बोल्दै महासचिव एन्टेनियो गुटेरसले कतिपय देशहरूले आफ्नो जनतालाई मात्र केन्द्रमा राखेर खोपको विषयमा आफूलाई केन्द्रित गरिरहेको भन्दै त्यसको आलोचना गरेका थिए।

Check Also

Commerce Dept. Collects NPR 22.88Mn in Fines from Deceitful Firms!

The Department charged fines against 990 firms for misconduct during mid-July 2020 and mid-June 2021. …

केपी शर्मा ओली: प्रधानमन्त्रीको गृहजिल्ला झापाको दमक नगरपालिकामा ‘राजनेता पार्क’ बनाउने योजनाको नालीबेली

उमाकान्त खनाल झापा ९ मिनेट पहिले तस्बिरको क्याप्शन, बजेटको कार्यक्रम लागु गर्न छलफल नै अघि …

Leave a Reply

Your email address will not be published. Required fields are marked *