• ज्याक गुडम्यान र फ्लोरा कारमिशेल
  • बीबीसी रीआलीटी चेक

अक्सफर्ड विश्वविद्यालयले कोरोनाभाइरस विरुद्धको खोप परीक्षणमा सफलता प्राप्त गरेको घोषणा गरेको साता हामीले खोप र तिनको सुरक्षाबारे सामाजिक सञ्जालहरूमा गरिएका दाबीबारे हेरिरहेका थियौँ।

खोप विरुद्धको अभियानले पछिल्ला वर्षमा अनलाइनमा पकड कायम गरेको छ र खोपको विरोधमा रहेका अभियानकर्मीहरू अहिले कोरोनाभाइरसबारे दाबी गर्नमा केन्द्रित भएका छन्।

डीएनएमा असर गर्नेसम्बन्धी दाबी

कोरोनाभाइरस विरुद्धको खोप परीक्षणबारे गलत दाबीहरू गरिएको एउटा भिडिओ आयो।

ओस्टिओपाथ क्यारी माडेजले बनाएको भिडिओ सामाजिक सञ्जालमा लोकप्रिय भयो।

क्यारी माडेजले बनाएको भिडिओमा खोपहरूले बिरामीको डीएनएमा परिवर्तन ल्याउन सक्ने भन्दै गलत दाबी गरिएको थियो।

“कोभिड-१९ विरुद्धका खोपहरू हामीलाई आनुवंशिक रूपमा परिवर्तन गर्न डिजाइन गरिएका छन्।”

विना कुनै प्रमाण उनले खोपहरूले “हामी सबैलाई आर्टिफिसिअल इन्टेलिजेन्शको सीमाभित्र बाँधिदिने” दाबी गरिन्।

विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओका अनुसार हाल विश्वभरि विभिन्न २५ वटा सम्भावित खोप क्लिनिकल परीक्षणका क्रममा छन्।

तर तीमध्ये कुनैले पनि डीएनएमा परिवर्तन ल्याउने कुरा र आर्टिफिसिअल इन्टेलिजेन्शको सीमाभित्र बाँधिदिने तिनमा कुनै प्रविधि नभएको बताइन्छ।

ती खोपहरू भाइरसलाई पहिचान गर्न र तिनीहरूसँग लड्नका निम्ति रोगप्रतिरोधी क्षमतालाई जगाउने हिसाबले डिजाइन गरिएका छन्।

“ठूलो स्तरमा प्रयोगमा लैजान सिफारिस गर्नुअघि सुरक्षासम्बन्धी कडा जाँचबाट नयाँ खोपहरू गुज्रिनुपर्ने हुन्छ,” बीबीसीका अनलाइन स्वास्थ्य सम्पादक भन्छन्।

हामीले क्यारी माडेजलाई उनका दाबीबारे बुझ्न खोज्दा यो समाचार प्रकाशित गर्ने बेलासम्म उनीबाट कुनै जवाफ आएन।

भिडिओ कहाँ शेअर गरिएको छ?

पहिलो पटक जुन महिनामा त्यसलाई यूट्यूबमा अपलोड गरिएको थियो जहाँ तीन लाख पटक त्यसलाई हेरियो।

त्यसका साथै सामाजिक सञ्जालहरू फेसबुक र इन्स्टाग्राममा पनि त्यो लोकप्रिय भयो।

तस्बिरको क्याप्शन,

जोहानेसबर्गमा खोपविरुद्ध प्रदर्शन

संयुक्त राज्य अमेरिका र यूके लगायतका ठाउँमा अझै त्यसलाई फैलाइँदैछ।

मिस्ट्रेस अफ साइन्सको नाममा लेख्ने दक्षिण अफ्रिकाकी एक वैज्ञानिक सराह डाउन्सले त्यो भिडिओबारे आफ्नी आमाले सचेत गराएको बताइन्।

खोप परीक्षणको गतिसम्बन्धी दाबी

अक्सफर्ड विश्वविद्यालयले विकास गरेको खोपसम्बन्धी प्रारम्भिक नतिजा सोमवार प्रकाशित भएपछि कोरोनाभाइरसमा केन्द्रित फेसबुक समूहरूमा त्यसले व्यापक बहस निम्त्यायो।

कतिपय फेसबुक प्रयोगकर्ताले आफूहरूलाई परीक्षणका लागि प्रयोग गर्न खोजिएको भन्दै प्रयोग खोप नलगाउने बताए।

खोप विकासको गतिलाई लिएर सुरक्षाबारे कतिपयको चासो हुन सक्ने पृष्ठभूमिमा अक्सफर्ड भ्याक्सिन ग्रुपका प्रमुख एन्ड्रिव पोलार्डले सबै क्लिनिकल परीक्षणमा कडा सुरक्षा उपायहरू अपनाइने गरेको बीबीसीलाई बताए।

सम्बन्धित देशका नियामक निकायहरूलाई सुरक्षासम्बन्धी प्रतिवेदनहरू दिइन्छ।

अक्सफर्ड विश्वविद्यालयको पहिलो परीक्षण शुरू गरिँदा एक स्वयंसेवीको ज्यान गएको दाबी सार्वजनिक भयो।

तर बीबीसीकै संवाददाताले ती स्वयंसेवीसँग अन्तर्वार्ता गरे अनि तथ्य जाँच्नेहरूले पनि दाबी खारेज गरिदिए।

खोप र स्पेनिश फ्लुसम्बन्धी दाबी

सन् १९१८ मा देखिएको स्पेनिश फ्लुका बेला पाँच करोड मानिसको ज्यान जानुमा खोपहरू जिम्मेवार रहेको भन्दै एउटा मिम सामाजिक सञ्जालमा फैलियो।

तर त्यो कुरा एकदमै असत्य हो।

पहिलो कुरा अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोलका अनुसार त्यसबेला खोप नै थिएन।

इतिहासविद्‌ मार्क होनिङ्ग्सबाउमका अनुसार ब्रिटेन र अमेरिकाका वैज्ञानिहरूले सामान्य ब्याक्टेरिअल खोपलाई लिएर प्रयोगहरू गरेका थिए तर ती हामीले अहिले जसरी पहिचान गर्छौँ त्यस्ता खोप थिएनन्।

ओल्गा रोबिन्सन, शयान सार्दारिजादेह र पिटर म्वाइले थप रिपोर्टिङ गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *