ट्रम्प र बाइडन

अमेरिकी मतदाताका लागि राष्ट्रपति पदका लागि स्पष्ट विकल्प हुन्- रिपब्लिकन पार्टीका बहालवाला राष्ट्रपति डोनल्ड ट्रम्प र डेमोक्र्याटिक पार्टीका जो बाइडन।

आउनुहोस् चुनावसँग जोडिएका प्रमुख आठ मुद्दामा उनीहरूका नीतिहरूको तुलना गरौँ।

कोरोनाभाइरस

राष्ट्रपति ट्रम्पले गत ज्यानुअरीमा कोरोनाभाइरससम्बन्धी एउटा कार्यदल गठन गरेका थिए।

त्यसको ध्यान अब “मानिसहरूको सुरक्षा र देशको अर्थतन्त्र कसरी खोल्ने” भन्नेमा केन्द्रित हुने उनको भनाइ छ।

ट्रम्पले कोरोनाभाइरसको उपचार र खोप विकासलाई पनि प्राथमिकतामा राखेका छन् र त्यसका लागि उनले त्यसका लागि १० अर्ब डलर छुट्ट्याएका छन्।

अर्कोतर्फ बाइडन चाहिँ देशव्यापी कन्ट्याक्ट ट्रेसिङ अभियान चलाउन चाहन्छन्।

उनी हरेक राज्यमा कम्तीमा १० वटा परीक्षण केन्द्र स्थापना गर्न र सबैलाई नि:शुल्क कोरोनाभाइरस परीक्षण गराउन चाहन्छन्।

उनी देशव्यापीरूपमा मास्कलाई अनिवार्य बनाउन चाहन्छन्। त्यसअन्तर्गत सबै सार्वजनिक क्षेत्रमा मानिसहरूले मास्क लगाउनुपर्नेछ।

जलवायु

राष्ट्रपति ट्रम्प जलवायु परिवर्तनलाई लिएर सधैँ सन्देह व्यक्त गर्ने व्यक्ति हुन्।

उनी गैर-नवीकरणीय ऊर्जाको विस्तार चाहन्छन्।

उनको लक्ष्य ग्यास र तेल निकाल्ने कार्य बढाउने र वातावरण संरक्षणसम्बन्धी सुरक्षा प्रबन्धहरू फिर्ता लिने रहेको छ।

उनी प्यारिस जलवायु सम्झौताबाट पछि हट्नेमा प्रतिबद्ध छन्।

जलवायु परिवर्तनसँग जुझ्नका लागि गरिएको उक्त अन्तर्राष्ट्रिय सम्झौताबाट अमेरिका यो वर्षको अन्त्यमा औपचारिक रूपमा हट्नेछ।

जो बाइडन चाहिँ आफू राष्ट्रपति निर्वाचित भए तत्कालै प्यारिस सम्झौतामा सहभागी हुन चाहन्छन्।

उनी सन् २०५० सम्ममा अमेरिकाले कार्बन उत्सर्जनको शून्य गरोस् भन्ने चाहन्छन्।

बाइडन नयाँ सार्वजनिक जग्गाहरू तेल र ग्यास निकाल्न भाडामा लगाउने कार्य बन्द गराउन चाहन्छन्।

उनले हरित ऊर्जाका लागि २० खर्ब डलर लगानीको प्रस्ताव गरेका छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ,

अमेरिका निर्वाचन २०२०: चुनावी अभियानमा कति खर्च हुन्छ? त्यो रकम कहाँबाट आउँछ?

अर्थतन्त्र

राष्ट्रपति ट्रम्पले १० महिनामा एक करोड रोजगारीको अवसर सिर्जना गर्ने प्रतिबद्धता जनाएका छन्।

उनले १० लाख नयाँ साना उद्योगहरू स्थापना गर्ने पनि बताएका छन्।

ट्रम्प आयकरमा कटौती गर्न र कम्पनीहरूलाई अमेरिकामा रोजगारी कटौती नगर्न प्रोत्साहित गर्न ‘ट्याक्स क्रेडिट’ दिन चाहन्छन्।

अर्कोतर्फ जो बाइडन उच्च आय गर्नेहरूका लागि कर बढाउन चाहन्छन्।

त्यसले गर्दा सार्वजनिक सेवाहरूमा लगानी गर्न सकियोस् भन्ने उनको चाहना छ।

तर उनको भनाइ के छ भने वार्षिक रूपमा चार लाख डलरभन्दा बढी आम्दानी गर्नेहरूलाई मात्र कर बढाइनेछ।

बाइडन राष्ट्रियस्तरमा न्यूनतम ज्यालादर बढाएर १५ डलर प्रतिघण्टा बनाउन चाहन्छन्।

हाल यस्तो दर प्रतिघण्टा ७ डलर २५ सेन्ट रहेको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ,

अमेरिकी चुनावको मत सर्वक्षण कति यथार्थपरक

स्वास्थ्य सेवा

राष्ट्रपति ट्रम्प ओबामाकालमा पारित भएको अफोर्डेबल केअर एक्ट (एसीए) खारेज गर्न चाहन्छन्।

उक्त कानुनअनुसार निजी स्वास्थ्य बीमा प्रणालीमा सङ्घीय सरकारको नियन्त्रण बढाइएको थियो।

त्यसका साथै उक्त कानुनले पहिलेदेखि नै बिरामी भएका मानिसहरूलाई बीमाको हिस्सा नबनाउने कार्यलाई गैरकानुनी बनाइदिएको थियो।

ट्रम्प यसमा सुधार गरेर संशोधन गर्न चाहन्छन्। यद्यपि उनको योजना के हो त्यसबारेमा हालसम्म कुनै पनि जानकारी बाहिर आएको छैन।

उनको लक्ष्य औषधिको मूल्य कम गर्नु पनि रहेको छ। त्यसका लागि उनी बाहिरबाट सस्तो दरमा औषधि आयातको अनुमति दिन चाहन्छन्।

तर जो बाइडन ओबामाकालको एसीएलाई कायम राख्ने मात्र होइन त्यसलाई विस्तार पनि गर्न चाहन्छन्।

उनी मेडिकेअरका लागि ६० वर्षको उमेरहद कायम गर्न चाहन्छन्। अहिले त्यो हद ६५ वर्ष तोकिएको छ।

मेडिकेअरअन्तर्गत जेष्ठ नागरिकहरूलाई चिकित्सा सुविधा प्राप्त हुने गर्छ।

उनी सबै अमेरिकीहरूलाई मेडिकेअरजस्तै खालको जनस्वास्थ्य बीमा योजना दिन चाहन्छन्।

विदेश नीति

राष्ट्रपति ट्रम्पले विदेशमा रहेका अमेरिकी सैनिकहरूको सङ्ख्या घटाउने आफ्नो वाचा दोहोर्‍याएका छन्। यद्यपि उनले सेनामा लगानी जारी राख्ने जनाएका छन्।

ट्रम्पले अन्तर्राष्ट्रिय गठबन्धनहरूलाई चुनौती दिन जारी राख्ने र चीनमाथिको व्यापार शुल्कलाई निरन्तरता दिने पनि बताएका छन्।

बाइडनले भने अमेरिकी सहयोगी देशहरूसँग सम्बन्ध सुधार गर्ने प्रतिबद्धता जनाएका छन्।

उनले चीनमाथि एकतर्फी शुल्क नलगाउने पनि बताएका छन्।

त्यसको साटो एउटा अन्तर्राष्ट्रिय गठबन्धनका साथ चीनलाई उत्तरदायी बनाउने र त्यसलाई चीनले बेवास्ता गर्न नसक्ने बाइडनको तर्क छ।

जातिवाद र प्रहरी

राष्ट्रपति ट्रम्प अमेरिकी प्रहरी सङ्गठनभित्र जातिवाद प्रणालीगत रूपमा रहेको समस्या हो भन्ने विश्वास गर्दैनन्।

उनले आफूलाई कानुन कार्यान्वयनको कडा हिमायतीका रूपमा प्रस्तुत गरेका छन्।

यद्यपि उनले शक्त कदमहरूको विरोध गरेका छन् र कार्यप्रणालीमा सुधारको प्रतिबद्धता जनाएका छन्।

बाइडनले भने जातिवादलाई एउटा प्रणालीगत समस्याका रूपमा हेरेका छन्।

उनले न्याय प्रणालीमा जातिवादी असमानता कम गर्ने नीति निर्धारण गर्ने बताएका छन्।

त्यसमा कैदीहरूको सङ्ख्या कम गर्नेदेखि लिएर राज्यहरूलाई प्रोत्साहन दिनेसम्मका कुरा छन्।

उनले प्रहरीलाई धनराशि दिने कुरालाई अस्वीकार गरेका छन्। त्यसको साटो उचित मापदण्ड बनाइराख्न अतिरिक्त स्रोतसाधन दिनुपर्ने उनको तर्क छ।

बन्दुक

राष्ट्रपति ट्रम्प अमेरिकीहरूलाई बन्दुक राख्ने अधिकारको सुरक्षा दिने संविधानको दोस्रो संशोधनलाई आफ्नो तरिकाले व्याख्या गर्छन्।

सन् २०१९ मा भएका गोली प्रहारका घटनापश्चात् उनले बन्दुक किन्नेहरूको पृष्ठभूमिको कडाइका साथ जाँच गर्नुपर्ने प्रस्ताव पनि गरेका थिए।

तर त्यसबारे थप केही पनि जानकारी प्राप्त भएन र कुनै कानुन पनि पारित भएन।

बाइडन चाहिँ साङ्घातिक हतियारहरू प्रतिबन्ध गर्ने, समान रूपमा सबैको पृष्ठभूमि परीक्षण गर्ने, प्रतिमहिना प्रतिव्यक्ति बन्दुक खरिद सङ्ख्या सीमित गर्ने, लापर्बाहीपूर्वक बन्दुक बनाउने र बेच्नेमाथि मुद्दा चलाउन सहज बनाउने पक्षमा छन्।

उनी बन्दुकबाट हुने हिंसालाई रोक्न अनुसन्धान गर्न चाहन्छन् र त्यसका लागि बजेट छुट्ट्याउन पनि तयार छन्।

सर्वोच्च अदालत

राष्ट्रपति ट्रम्प आफ्नो अहिलेकै कार्यकालका क्रममा सर्वोच्च अदालतमा रिक्त रहेका दरबन्दी पूरा गर्ने आफ्नो संवैधानिक अधिकार रहेको बताउँछन्।

उनले एक अनुदारवादी न्यायाधीश एमी कोने ब्यारेटको नाम सिफारिस पनि गरेका छन्।

अमेरिकामा गर्भपतनलाई कानुनी अधिकार बनाउनेबारे सर्वोच्च अदालतलाई तत्कालै फैसला गर्नुपर्नेछ।

यो किन पनि मुद्दा बन्यो भने ट्रम्प र न्यायाधीश ब्यारेटले त्यसको विरोधमा पहिले नै विचार व्यक्त गरिसकेका छन्।

बाइडन भने नवनिर्वाचित राष्ट्रपतिले पदभार ग्रहण गरेपछि मात्र सर्वोच्चको रिक्त दरबन्दी पूर्ति गर्नुपर्ने चाहना राख्छन्।

उनले आफू राष्ट्रपति चुनिए सर्वोच्चले गर्भपतनलाई कानुनी अधिकारयुक्त बनाउने कुरालाई अस्वीकार गरिदिएको खण्डमा महिलालाई गर्भपतनको अधिकार दिने खालको विधेयक पास गराउन काम गर्ने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *