Breaking News

अमेरिका निर्वाचन २०२०: चीनको रोजाइमा डोनल्ड ट्रम्प कि जो बाइडन?

  • जोन सुडवर्थ
  • बेइजिङ

चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूका लागि अमेरिकी राष्ट्रपतीय निर्वाचन लामो समयदेखि चासो र दिक्दारीको विषय बन्ने गरेको छ।

संसारमा हुने सबैभन्दा प्रभावशाली प्रजातान्त्रिक नेतृत्वको चयनलाई बेइजिङमा सरकारी अधिकारीहरूले नजिकबाट नियाल्छन्।

तर चीनको एक अर्ब ४० करोड नागरिकलाई प्राप्त नहुने छनोटको अवसरको सम्झना दिलाउने यो निर्वाचनमा चिनियाँ सञ्चारमाध्यममा नियन्त्रित सामग्री मात्रै आउँछ।

तर यस पटक महामारीको बीचमा अर्थतन्त्र भत्किएको र राजनीतिक ध्रुवीकरण बढेको बेला हुन लागेको यो निर्वाचनमा चीनले केही भिन्नता देखेको छ।

अहिले चीनको अधिनायकवाद होइन बरु पश्चिमा प्रजातन्त्रहरूले सङ्कट खेपिरहेका छन्।

संसारको सबैभन्दा स्वतन्त्र र धनी राष्ट्रलाई कुनै बेला पारदर्शिता र उत्तदायित्वका कारण भाइरससँग लड्न सबैभन्दा सक्षम हुने ठानिए पनि त्यस्तो नभएको देखिएको छ।

उता सुरुमा आफ्नो कमजोरी लुकाएको आरोप लागेको चीनले भने एकल शक्ति प्रयोग गरेर मन लागेको बेला निगरानी, परीक्षण र क्वारन्टीनको बाध्यकारी व्यवस्था लागु गरेर गजबको नतिजा निकालेको छ।

चीनमा उद्योग, पसल, भोजनालय, विद्यालय र विश्वविद्यालय सबै खुलेका छन्, सार्वजनिक यातायातमा यात्रुको सङ्ख्या औसतभन्दा केही कम छ, तर यो वर्ष नखुम्चिने बरु बढ्ने सम्भावना भएको एकमात्र प्रमुख अर्थतन्त्र त्यहीँको छ।

यो सबै सेन्सरशिपका कारण सार्वजनिक बहस नभई गरिएको छ र त्यहाँका कुनै पनि तहको सरकारका निर्णयकर्ताहरू नागरिकको अर्थपूर्ण मतबाट निर्वाचित भएका होइनन्।

अहिलेको अवस्थामा चीनको राजनीतिक व्यवस्थाको कमजोरी होइन बरु यसको शक्तिको चर्चा हुन थालेपछि त्यहाँ एकखालको आत्मसन्तोष देखिएको छ।

“कोभिड-१९ विरुद्धको सङ्घर्षमा प्राप्त भएको चीनको प्रमुख रणनीतिक उपलब्धिले कम्युनिस्ट पार्टीको नेतृत्वको अद्वितीय फाइदा पूर्णरूपले देखाएको छ,” राष्ट्रपति सी जिनपिङ्ले गत महिना कोरोनाभाइरसविरुद्धको सङ्घर्षमा नायक मानिएका स्वास्थ्यकर्मी र अन्यको सम्मानमा आयोजित कार्यक्रममा भनेका थिए।

यो सन्देश चीनको राज्यनियन्त्रित टीभीहरूले अमेरिकाको स्वास्थ्य सङ्कटको तथ्याङ्कका साथसाथै त्यहाँको विरोधप्रदर्शन र निर्वाचन अभियानका दृष्यसँगै देखाएका थिए।

कसले जित्छ भन्ने मतलब नभए पनि दिन खोजिएको सन्देश स्पष्ट छ: जब अमेरिकाको राजनीति खराब हुन्छ त्यतिबेला उसको सीमितता देखिन्छ र विश्वमा यसको शक्ति एवम् सम्मान घट्छ।

आफ्नो व्यवस्थाप्रति चीनको बढ्दो आत्मविश्वास यो महिना बेइजिङमा आयोजित कार शोसँग दाँज्न सकिन्छ।

विशाल प्रदर्शनीस्थलमा महामारी सुरु भएयताको पहिलो प्रमुख गाडी प्रदर्शनीले चीनले भाइरसमाथि पाएको विजयलाई झल्काउँछ। मास्कबाहेक अन्य सबै कुरा कोरोनाभाइरस आउनु अगाडिकै जस्तै थिए।

तर त्यो प्रदर्शनी चीनले महामारीमाथि प्राप्त गरेको विजयको उदाहरण मात्रै नभई अर्को गहिरो र दीर्घकालीन कुराको प्रमाण पनि हो। त्यो भनेको चीनले विश्व व्यापारको शक्तिलाई आफ्नो फाइदामा स्थानान्तरण गर्न सक्छ भन्ने हो।

सन् २०१६ को निर्वाचन हुँदा विश्वको दोस्रो आर्थिक शक्ति बनिसकेको चीनलाई डोनल्ड ट्रम्पको सन्देश स्पष्ट थियो: सन् १९७२ मा राष्ट्रपति रिचर्ड निक्शनको भ्रमणपछि आरम्भ भएको अमेरिका-चीन व्यापारलाई प्रयोग गरेर चीनले अर्थिक शक्ति बन्न गलत काम गरिरहेको छ।

ट्रम्पले निर्वाचित भएपछि पनि चीनलाई त्यसैगरी हेरे र त्यसकै परिणाम कुनै बेला अमेरिकाले तीन खर्ब ६२ अर्बको सामानमा भन्सार शुल्क लगायो।

यो वर्ष उनको प्रशासनले चीनमाथि मानव अधिकार हननका कारण राजनीतिक प्रतिबन्धहरू लगाएको छ।

अमेरिकी प्रजातन्त्रको म्याद गुज्रेको भावना चिनियाँ नेतृत्वमा आएको हुनसक्छ तर छनोटको अवसर दियो भने के उनीहरूले ट्रम्प हारेको हेर्न चाहन्छन्?

अमेरिकी प्रतिवेदनहरूले त्यही भन्छन्। ट्रम्पको अनुमान गर्नै नसकिने व्यवहार र बेइजिङको आलोचनाका कारण चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्व उनको हारलाई फाइदाजनक ठान्छ।

तस्बिरको क्याप्शन,

जो बाइडेनले उपराष्ट्रपति हुँदा चिनियाँ राष्ट्रपतिसँग भेटेका थिए

तर बेइजिङका अन्तर्राष्ट्रिय सम्बन्ध प्राध्यापक यान सीटोङ यो मान्दैनन्।

उनी भन्छन्, “मलाई सोध्नुहुन्छ भन्ने चीनको छनोट बाइडनभन्दा ट्रम्प हुन्छ।”

“यसको कारण ट्रम्पले चीनलाई बाइडनभन्दा कम बेफाइदा गर्छन् भन्ने होइन बरु अमेरिकालाई बाइडनभन्दा बढी ट्रम्पले कमजोर बनाउँछन् भन्ने हो।”

यसले के देखाउँछ भने चीनका ख्यातिप्राप्त व्यक्तिहरू अब खुलास्त अमेरिकाको राजनीतिक र आर्थिक पतन चीनको फाइदामा हुने बताउन थालेका छन्।

अमेरिकी शक्ति अस्ताउने कुरा ट्रम्प र भाइरसभन्दा अगाडिकै भए पनि अहिले खुलेर ती कुरा बोलिन थालेको छ।

यो धारबाट हेर्दा चीनले ट्रम्पले जितेको हेर्न चाहनु स्वाभाविक हो। यसको कारण उनको प्रजातन्त्रप्रतिको निष्ठा र विश्वास नभई उनले देखाएको प्रजातन्त्रप्रतिको अविश्वास नै हो।

उदाहरणको लागि ट्रम्पले स्वतन्त्र पत्रकारितामाथि गरेको आक्रमणले इन्टरनेटलाई समेत कडा निगरानी र सेन्सरशिपमा राखेको चीनका लागि मीठो धुन हो।

अनि ट्रम्पले चीनलाई मानव अधिकारको विषयमा जतिसुकै आलोचना गरे पनि उनको आफ्नै स्वार्थ भने व्यापार र आर्थिक फाइदाको झन् साँघुरो घेरामा बाँधिएको देखिन्छ।

ट्रम्पको एकलकाटे नीतिले भन्दा बाइडेनले प्रजातान्त्रिक रूपबाट मित्रराष्ट्रहरूको समुदाय बनाएर चीनलाई मानव अधिकारका विषयमा बढी दबाव दिन सक्ने सम्भावना छ।

चिनियाँ व्यवस्थाभन्दा अमेरिकी व्यवस्थामा बढी मानिसको विश्वास हुनसक्ने प्रमाण अमेरिकामा रहेको तीन लाख ६० हजारभन्दा बढी चिनियाँ विद्यार्थी होइनन् र?

अमेरिकाको भाइरसको तथ्याङ्क देखाएर आफ्नो व्यवस्थालाई राम्रो देखाउने चिनियाँ प्रयासलाई विश्वास गरिहाल्न नहुने कारण पनि छ। जापान, न्यूजील्यान्ड र दक्षिण कोरियाजस्ता धेरै प्रजातान्त्रिक मुलुकहरूले भाइरसलाई नियन्त्रणमा राखेका छन्।

भाइरस नियन्त्रणमा नआएका देशमा पनि केही विज्ञहरू खुला समाजको सिक्ने र सुधार्ने क्षमताका कारण सकारात्मक हुनुपर्ने बताउँछन्।

व्यक्तिगत अधिकारलाई सम्मान गर्दा भाइरस नियन्त्रण गर्न गाह्रो भएको भए पनि मानिसलाई घरभित्रै थुनेर राखिने व्यवस्था जनस्वास्थ्य स्वर्गको अवस्था भने होइन।

त्यसैले भाइरसले प्रजातान्त्रिक र अधिनायक व्यवस्थालाई बराबरीमा राखेर विश्वले हेर्नेछ भन्ने चिनियाँ आशा अनुमानभन्दा पनि सपना हुनसक्छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ,

के रुसले अमेरिकी चुनावमा हस्तक्षेप गरिरहेको छ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *